सत्ता कित्ताकै ‘खरो विपक्षी’ अमरेश सिंह
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध खरो रूपमा प्रस्तुत भए ।
सरकारको कार्यशैली, प्रहरी प्रशासनमाथिको हस्तक्षेप, मधेशप्रतिको व्यवहारदेखि विपद् व्यवस्थापन र महँगीसम्मका विषय उठाउँदै उनले सरकारलाई संसदबाटै कठोर प्रश्न गरे ।
सिंहले अहिले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल बनेको टिप्पणी गरे । उनले सरकारमाथि ‘हुकुमी शासन’ चलाएको आरोपसमेत लगाए ।
‘सरकारको केन्द्र सिंहदरबार बुझेको थिएँ, तर सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ उनले भने ।
उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर दबाब दिइएको र प्रहरी प्रशासनलाई समेत राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाए । प्रहरी नेतृत्वलाई कसरी अपमानित गरिएको छ भन्ने प्रश्न गर्दै उनले गौरीकुमारी यादव प्रकरणसमेत उठाए ।
‘मा. गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपथ्र्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो,’ सिंहले भने ।
सरकारमा प्रधानमन्त्रीसँग पर्याप्त अधिकार हुँदाहुँदै पनि त्यसको दुरुपयोग भइरहेको उनको आरोप थियो । प्रधानमन्त्रीले असन्तुष्ट भए मन्त्रीलाई बर्खास्त गर्न सक्ने भए पनि मन्त्रीमार्फत पक्राउ गर्न लगाउने शैली संविधानले परिकल्पना नगरेको उनले बताए ।
‘प्रधानमन्त्रीका अधिकार सिस्टममा हुन्छ । जतिखेर पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन् । तर प्रधानमन्त्रीले मन्त्रीलाई पठाउँछन् अरेस्ट गर्न । सचिवालयले पठाउँछ,’ उनले भने, ‘म कुन देशको सांसद ? यो देशको सांसद ? गुण्डाशैलीमा शासन गर्नुपर्छ भन्ने उहाँको कोट अनकोट हो । यो संविधानले परिकल्पना गरेको छैन ।’
सिंहले आफूले सुरुमै मन्त्री बन्न अस्वीकार गर्नुको कारणसमेत संसदमा खुलाए । आफू समुदाय र भूगोलको प्रतिनिधि भएकाले सरकारमा बसेर गलत कामको साक्षी बन्न नसक्ने उनको भनाइ थियो ।
उनले रास्वपाले संविधानको अक्षरशः पालना गर्ने दाबी गर्दै मधेशी समुदायमाथि सुरुदेखि नै प्रहार भइरहेको आरोप लगाए । दीपक साहदेखि गौरीकुमारी यादवसम्मका घटनालाई उनले त्यसैको उदाहरणका रूपमा प्रस्तुत गरे ।
‘रास्वपाको आधिकारिक तरिकाले भन्न चाहन्छु– हाम्रो पार्टी यो संविधानको अक्षरशः पालना गर्छ । हाम्रो पार्टी हिमाल, पहाड र तराईलाई समान रूपमा हेर्न चाहेको छ । तर मधेशीलाई प्रहार सुरुदेखि भइरहेको छ,’ उनले भने ।
सिंहले मधेशको बलमा सत्ता निर्माण भएको भन्दै सरकार नेतृत्वप्रति समेत आक्रोश पोखे । बर्दिबास मेडिकल कलेज स्थापनाको मधेशी जनताको सपना सरकारले समाप्त पारेको उनको आरोप थियो ।
‘तपाईंले मधेशीको बलमा सत्ता ठड्याउनु भएको छ, तपाईं तासको पत्ता हो । मधेशीको एउटा सपना थियो, त्यो हो बर्दिबास मेडिकल कलेज स्थापना गर्ने । त्यो तपाईंले समाप्त गर्नुभयो,’ उनले भने ।
सरकारका सल्लाहकारको भूमिकामाथि पनि सिंहले प्रश्न उठाए । विदेशी गुप्तचर संस्थासँग सल्लाहकारले लुकेर भेट गरेको दाबी गर्दै उनले राज्यको ढुकुटीबाट तलब खाने व्यक्तिले मुलुकको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नहुने बताए ।
‘एउटा जासुसी संस्थालाई भेट्न सल्लाहकार लुकेर जान्छ, राज्यको ढिकुटीबाट तलबभत्ता मन्त्रीस्तरीय खान्छ । लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नास गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन,’ उनले भने ।
विपद् व्यवस्थापनमा समेत सरकार असफल भएको सिंहको आरोप थियो । रसुवाको बाढीमा प्रहरी र सशस्त्र प्रहरीसँग प्रभावकारी समन्वय भएको भए क्षति कम गर्न सकिने उनको दाबी थियो । विदेशी सहयोगका लागि सुरुमै आह्वान गर्नुपर्ने उनको भनाइ थियो ।
‘यही रसुवाको बाढीमा प्रहरी र सशस्त्रसँग समन्वय गरेको भए यत्तिको ठूलो क्षति हुने थिएन । सुरुमा विदेशीहरूलाई आह्वान गरेको भए यति क्षति हुने थिएन,’ उनले भने ।
सिंहले सरकारको जनजीविकासम्बन्धी कामप्रति पनि असन्तुष्टि जनाए । किसानले मल नपाएको र गृहिणीले ग्यास नपाएको भन्दै उनले सरकारलाई जनताको दैनिक समस्यातर्फ ध्यान दिन आग्रह गरे ।
‘आज किसानलाई एकातिर मल दिएको छैन, अर्कोतिर गृहिणीलाई ग्यास दिएको छैन,’ उनले भने ।
स्वास्थ्य र शिक्षा क्षेत्रको नियुक्ति तथा व्यवस्थापनमाथि पनि उनले प्रश्न उठाए । स्वास्थ्य क्षेत्रमा मधेशीलाई विभेद गरिएको दाबी गर्दै उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्तिको विषय उठाए । शिक्षामन्त्रीले शिक्षा क्षेत्रलाई ध्वस्त बनाएको आरोपसमेत उनले लगाए ।
सत्ता पक्षकै सांसद भएर सरकारको आलोचना गरेका सिंहको प्रस्तुतिले बिहीबारको संसदमा सरकारमाथि आफ्नै कित्ताबाट उठेको असन्तुष्टिलाई सतहमा ल्याएको छ । रास्वपाबाट निर्वाचित सिंहले यसअघि नै मन्त्रिपरिषद्मा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका थिए ।
सिंहको बिहीबारको अभिव्यक्ति भने सरकारको विरोधमा प्रतिपक्षी दलका सांसदले गर्ने आलोचनाजस्तै देखिन्थ्यो । फरक यति हो-यसपटक सरकारलाई प्रश्न गर्ने व्यक्ति विपक्षी बेन्चमा होइन, सत्ता कित्तामै छन्।
