भोटेकोसी बाढीपछि पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफ्नै स्रोतसहित दातृ निकायबाट प्राप्त सहयोग परिचालन गर्ने तयारी गरिरहेको बताए।
उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर काम भएकोमा आफू खुसी रहेको उनले बताए।
‘यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,’ प्रधानमन्त्री शाहले भने।
सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उनले बताए। सडक सञ्जाल सञ्चालनमा आएपछि प्रभावित नागरिकलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने उनको विश्वास छ।
प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय आफूहरूले सुरुआतदेखि नै उठाउँदै आएको बताए। अब बाढी प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै उनले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने तयारी सुरु गरिएको जानकारी दिए।
नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले खेतीयोग्य जमिन जोगाएर वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्ने बताए।
त्यसका लागि सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलबाट त्यहाँको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए।
