`

लाइक-भ्युजको होडमा आईसीयू नै प्रचारबाजीको केन्द्र, प्रमुख सचेतक मेचेकाे आपत्ति

Nepal One HD ३१ भदौ २०८३ ८:५९
नेकपा एमाले

काठमाडौं । राष्ट्रिय सभाकी एमाले प्रमुख सचेतक रोश्‍नी मेचेले वीरेन्द्र सैनिक अस्पतालको आईसीयू कक्षभित्रै बिरामीको अन्तर्वार्ता लिने र दिने कार्यप्रति आपत्ति जनाएकी छन् ।

उनले अस्पतालको आईसीयूजस्तो संवेदनशील स्थानमा पुगेर अन्तर्वार्ता लिनु चिकित्सा आचारसंहिता र सञ्चार मर्यादा दुवैको गम्भीर उल्लंघन भएको टिप्पणी गरेकी हुन् ।

मेचेले बिरामीको गोपनीयता, स्वास्थ्य सुरक्षा र न्यूनतम मानवीय संवेदनासमेतलाई बेवास्ता गरिएको भन्दै प्रश्न उठाएकी छन् ।

लाइक्स्, शेयर र भ्युजको होडबाजीमा अस्पतालजस्तो अत्यन्त संवेदनशील स्थललाई प्रचारवाजीको केन्द्र बनाउनु कुन हदसम्मको उचित हो ?’

भोटेकोशी–त्रिशूली बाढीपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनसँग युट्युबर सुरजसिंह ठकुरीले आईसीयू कक्षमै पुगेर अन्तर्वार्ता लिएका थिए । क्यामेरा, लाइट र माइकसहित आईसीयूभित्र प्रवेश गरेर दुई घण्टाभन्दा बढी समय ‘सुटिङ’ गरिएको पाइएकाे छ ।

अन्तर्वार्ताका लागि नेपाली सेनाकै तर्फबाट चाँजोपाँजो मिलाइएको विवरणसमेत सार्वजनिक भएपछि घटनामाथि थप प्रश्न उठेको छ । यद्यपि, घटनाबारे नेपाली सेनाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘बुझ्ने काम भइरहेकाे’ बताइरहेका छन् ।

भोटेकोशी बाढीपछि सुरुङमा फसेका मजदुर तथा प्राविधिकको उद्धारका लागि बालेन सरकारले १६ भदाैसम्म (सात दिन) नेपाली सेनालाई मात्रै परिचालन गरेकाे थियाे । तर सुरुङबाट उद्धार सम्भव नभएको भन्दै सेना र सरकारले हात उठाए । यस्ताे अवस्थामा ऊर्जा प्रवद्र्धक, विदेशी उद्धारकर्ता तथा नेपाल प्रहरी, सशस्र प्रहरी र सेना पिन मिलेर महर्जन र साहलाई सुरुङबाट उद्धार गरेर सकुशल बाहिर निकालेका थिए ।

यसपछि भने सेनाले आफ्नै प्रयासबाट मात्रै उद्धार सम्भव भएको सन्देश दिन सैनिक अस्पतालको आईसीयूमा उपचाररत उद्धार गरिएका व्यक्तिसँग अन्तर्वार्ता लिन चाँजोपाँजो मिलाएको आराेप लाग्दै आएकाे छ । यही घटनाप्रति मेचेले गम्भीर आपत्ति जनाएकी हुन् ।

यस विषयमा मंगलबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले पनि सेनाको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । उनले घटनाको छानबिन गर्नुपर्ने माग गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *