‘द ग्रे जोन’को रिपोर्टले तर्सिएका रवि र स्वर्णिम तर्किए
काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित भनिएको एउटा रिपोर्टलाई लिएर नेपाली राजनीतिमा बहस चर्किएका बेला रास्वपा सभापति रवि लामिछानेले त्यसबारे आफू जानकार नरहेको बताएका छन्। उता, यही विषयमा अर्थमन्त्री स्वर्णिम वाग्ले भने पत्रकारको लगातार प्रश्नबाट पन्छिएका छन्।
केही दिनअघि सार्वजनिक भएको भनिएको उक्त रिपोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति लामिछानेसहित केही प्रमुख नेपाली नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरिएको छ। रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको चर्चा बढेको थियो।
बुधबार सर्वदलीय बैठकपछि पत्रकारहरूले लामिछानेलाई यही विषयमा प्रश्न गरे। तर उनले रिपोर्टको विषयवस्तुमाथि प्रतिक्रिया दिनुको साटो पत्रकारसँगै त्यसको स्रोत र विश्वसनीयताबारे प्रश्न गरे।
पत्रकारले ‘ग्रे जोनको रिपोर्टलाई कसरी हेर्नुभएको छ ?’ भनेर सोध्दा लामिछानेले उल्टै भने, ‘तपाईंले कसरी हेर्नुभयो ? ल, यो सोध्नुहोस्। के रहेछ ग्रे जोन ? मलाई सुनाइदिनुपर्यो। के रहेछ भन्नु त मलाई ? कुन पत्रिका रहेछ यो, कहाँ निस्किँदो रहेछ ?’
पत्रकारले रिपोर्ट सार्वजनिक भएको र सामाजिक सञ्जालभरि चर्चा भइरहेको बताए। त्यसपछि पनि लामिछानेले आफूले रिपोर्ट नपढेको दाबी गरे।
‘हो र ? मैले त पढेको छैन। जुन चिजको क्रेडिबिलिटी छैन, त्यो त म पढ्दिनँ,’ उनले भने।
उनले सञ्चारमाध्यमले तथ्यमा आधारित सामग्री प्रकाशित गरे आफूले पढ्ने बताए। तर आफूलाई आधारहीन लाग्ने सामग्रीमा समय खर्च गर्नु उचित नभएको उनको भनाइ थियो।
‘अण्टसण्ट लेख्नुभएन भने त पढ्छु। अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय खर्च गर्ने ? यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने ?’ लामिछानेले भने।
‘द ग्रे जोन’को रिपोर्टबारे अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि पत्रकारहरूले प्रश्न गरेका छन्। तर वाग्लेले भने रिपोर्टबारे कुनै प्रतिक्रिया दिएनन्।
बुधबार अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई घेरा हालेर रिपोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति लामिछानेसहित केही नेताको नाम जोडिएको विषयमा धारणा मागेका थिए।
एक पत्रकारले रिपोर्टबारे बोल्न आग्रह गर्दै प्रधानमन्त्री र सांसदहरूको नामसमेत जोडिएको उल्लेख गरे। तर वाग्लेले प्रश्न सुनेर पनि केही बोलेनन्।
त्यसपछि अर्का पत्रकारले रिपोर्टमा गरिएको दाबी वास्तविक हो कि गलत भन्नेबारे स्पष्ट धारणा मागे। ‘यो रिपोर्टबारे तपाईं के भन्नुहुन्छ ? वास्तविकता हो कि शतप्रतिशत झूटो हो ?’ भनेर सोधिए पनि वाग्ले मौन नै रहे।
पत्रकारहरूले फेरि ‘थोरै बोलिदिनु न यसबारे’ भन्दै प्रतिक्रिया मागे। तर उनले कुनै जवाफ दिएनन्। पत्रकारका प्रश्न बेवास्ता गर्दै उनी सरकारी गाडीतर्फ अघि बढे र गाडी चढेर मन्त्रालय परिसरबाट बाहिरिए।
रिपोर्टबारे दुवै नेतासँग प्रश्न गरिए पनि उनीहरूको प्रतिक्रिया फरक देखिएको छ। लामिछानेले आफूले रिपोर्ट नपढेको बताएर त्यसको स्रोत, विश्वसनीयता र सामग्रीमाथि प्रश्न उठाए।
अर्थमन्त्री वाग्लेले भने रिपोर्ट सही वा गलत भन्ने विषयमा समेत कुनै सार्वजनिक प्रतिक्रिया दिएनन्।
यसअघि पनि अमेरिकी सहयोग, अन्तर्राष्ट्रिय संस्था र नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँग जोडिएका विभिन्न दाबी सामाजिक सञ्जालमा बहसको विषय बन्दै आएका छन्। ‘द ग्रे जोन’को पछिल्लो रिपोर्टले पनि त्यही बहसलाई थप सतहमा ल्याएको छ।
तर रिपोर्टमा गरिएका दाबीहरूको स्वतन्त्र पुष्टि वा खण्डनबारे सम्बन्धित पक्षबाट स्पष्ट विवरण सार्वजनिक नभएसम्म त्यसलाई दाबीका रूपमा मात्र बुझ्नुपर्ने अवस्था छ।
रिपोर्टबारे लामिछानेले ‘पढेकै छैन’ भन्दै प्रश्न उठाएका छन् भने वाग्लेले प्रतिक्रिया नदिएपछि अहिले दुवै नेताको फरक शैली राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।
