‘एयरपोर्टमा थन्कियो आधा नेपाललाई पुग्ने बाढीपीडितको राहत?’
काठमाडौं । बाढीपहिरोले घरबार र आफन्त गुमाएका नागरिक राहतको पर्खाइमा छन्, तर विदेशबाट उनीहरूका लागि आएको ठूलो परिमाणको राहत सामग्री भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमै थन्किएको भन्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले सरकारमाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले विपद्का बेला सहयोगस्वरूप आएको सामग्री समयमै प्रभावितसम्म नपुर्याइनु गम्भीर व्यवस्थापकीय कमजोरी भएको बताए।
उनले कोरोना महामारीका बेला विदेशबाट आएको २० कन्टेनर सामग्रीसमेत उपयोग हुन नसकी खेर गएको उदाहरण दिँदै अहिले पनि उस्तै अवस्था दोहोरिन लागेको बताए।
‘कोरोनाका बेलामा विदेशीले दिएको २० कन्टेनर सामान खेर गयो । अहिले पनि विदेशीहरूले दिएको आधा नेपाललाई एक वर्ष पुग्ने सामान थन्किएको छ,’ उनले भने।
विमानस्थलमा राहत सामग्री किन थन्किएको हो भन्नेबारे बुझ्दा सम्बन्धित क्षेत्रबाट माग नआएको जवाफ पाएको न्यौपानेले बताए।
उनले सरकारलाई वास्तविक आवश्यकता पहिचान गरेर राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्याउन वा माग नभए अन्यत्र व्यवस्थापन गर्न सुझाव दिए।
‘माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकलाई बुझियोस्। माग छैन भने ती सामग्रीको व्यवस्थापन गरियोस्। आवश्यकता छ भने सम्बन्धित क्षेत्रमा पुर्याइयोस्,’ उनले भने।
विपद्का बेला सहयोगस्वरूप आएको सामग्री विमानस्थलमै अलपत्र पार्दा अन्तर्राष्ट्रिय सहयोगको समेत गलत सन्देश जाने उनको भनाइ छ।
न्यौपानेले सरकारका विभिन्न निकायबीच समन्वय गरेर राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न आग्रह गरे।
‘एयरपोर्टमा सामान अलपत्र छ, तर नागरिकलाई मलमपट्टी गर्ने सामान छैन भन्ने समाचार सुन्न नपरोस्,’ उनले सरकारको ध्यानाकर्षण गराए।
