उपत्यकाका नदीमा बाढी बढेपछि करिडोरमा यात्रा नगर्न आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर सडकमा यात्रा नगर्न आग्रह गरेको छ।
ललितपुरको च्यासलस्थित पुलमा बाढीको पानी पुग्न थालेपछि प्रहरीले माइकिङ गर्दै करिडोरमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यकाका खोला तथा नदीमा जलसतह बढेपछि तटीय क्षेत्रमा निगरानी बढाइएको छ।
‘करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ,’ उनले भने।
प्रहरीले खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन हटाउनसमेत आग्रह गरेको छ। च्यासल पुललगायत जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गरिएको छ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ। उक्त प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार भोलिबाट पूर्वी जिल्लाको तुलनामा बागमती प्रदेशदेखि पश्चिमतर्फका क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ।
वर्षा थप हुन सक्ने भएकाले नदी तथा खोला किनार, करिडोर र डुबानको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
