प्रधानमन्त्री शाह भन्छन्- ‘ढुक्क हुनुस्, सरकार छ’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गतेयता देखिएका विपद्का घटनामा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर उद्धार तथा व्यवस्थापनको काम भइरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी थिए।
उनीहरूलाई आश्वस्त पार्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा कुनै सम्झौता नगरी सरकारले काम गरिरहेको बताए।
उनले भने, ‘उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
भोटेकोशी, त्रिशूली, गण्डकीलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै प्रभावित क्षेत्रमा व्यवस्थापनको काम अघि बढिरहेको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले भविष्यमा विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको बताए।
हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि सरकारले आवश्यक काम अघि बढाइरहेको उनको भनाइ थियो।
विपद्का बेला आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिसहित सबैप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरे।
