`

कहाँ छन् देउवा?

Nepal One HD २० असोज २०८३ १२:२२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा भइरहेका बेला पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारीमा व्यस्त छ।

गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियाबाट अलग बसेको देउवा समूहले वडा तहबाटै आफ्नो संगठनात्मक गतिविधि अघि बढाएको हो।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिएको छ। निर्वाचन समितिका अनुसार पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको दाबी गरिएको छ।

छुट्टै महाधिवेशनको व्यवस्थापनका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजनमा तयारी अघि बढाइएको देउवा पक्षले जनाएको छ। विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ।

देउवा समूहका नेताहरूले आफूहरूले पार्टी फुटाउन नभई संस्थागत निरन्तरताका लागि छुट्टै प्रक्रिया अघि बढाएको दाबी गरेका छन्। प्रकाशशरण महत र एनपी साउदलगायत नेताहरूले पार्टी एकताका लागि प्रयास गरिए पनि दुवै पक्षबीच सहमति नजुटेपछि आफ्नो प्रक्रिया अघि बढाउनुपरेको बताएका छन्।

कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिलाई नै वैधानिक निरन्तरता मान्नुपर्ने देउवा पक्षको दाबी छ। अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने फैसलामाथि पुनरावलोकनका लागि निस्सा दिएपछि देउवा समूह थप सक्रिय भएको हो।

देउवा निकट युवा नेता बद्री सिग्देलका अनुसार देउवा अदालतको निर्णय आफ्नो पक्षमा आउनेमा विश्वस्त छन्। उनका अनुसार देउवा पछिल्लो समय देशभरका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा छन् र अदालतको प्रक्रियालाई नजिकबाट हेरिरहेका छन्।

देउवा पक्षले अदालतको अन्तिम निर्णयपछि पार्टीभित्रको विवाद टुंगिने र धेरै नेता-कार्यकर्ता पुनः एउटै ठाउँमा आउने विश्वास व्यक्त गर्दै आएको छ। देउवा निकट नेताहरूका अनुसार उनी पार्टीको नेतृत्वभन्दा पनि आफूले पाउनुपर्ने न्याय र कांग्रेसको एकतालाई प्राथमिकतामा राखेको बताउँदै आएका छन्।

यता, देउवा पक्षले गाउँदेखि केन्द्रसम्म संगठन विस्तारको कामलाई तीव्र बनाएको छ। वडा अधिवेशनसँगै जिल्ला र अन्य तहका अधिवेशनको तयारी पनि अघि बढाइएको छ।

यसबीच कांग्रेसभित्रको विवाद अब दुई फरक महाधिवेशन प्रक्रियामा देखिन थालेको छ। एकातिर गगन थापा नेतृत्वको महाधिवेशन काठमाडौंमा चलिरहेको छ भने अर्कोतिर देउवा पक्षले आफ्नै कार्यतालिकाअनुसार संगठनात्मक गतिविधि अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *