दोस्रो राउन्डमै डुबोइसको मुक्काको वर्षा, वार्डलीको विश्व उपाधि खोसियो
काठमाडौं । ड्यानियल ‘डाइनामाइट’ डुबोइसले लन्डनमा भएको विश्व हेभीवेट उपाधिको पुनर्भिडन्तमा फाबियो वार्डलीलाई दोस्रो राउन्डमै पराजित गरेका छन्। सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका डुबोइसले शक्तिशाली मुक्काको वर्षा गर्दै वार्डलीलाई निरीह बनाएपछि रेफ्रीले खेल रोकेका थिए। यससँगै डुबोइसले आफ्नो विश्व बक्सिङ हेभीवेट बेल्ट सुरक्षित राखेका छन्।
शनिबार भएको भिडन्तमा २९ वर्षीय डुबोइसले खेल सुरु भएको १७ सेकेन्डमै दाहिने हातको शक्तिशाली मुक्का प्रहार गर्दै ३१ वर्षीय वार्डलीलाई रिङमा ढाले। रेफ्रीको गन्ती पूरा गर्दै वार्डली पुनः उठ्न सफल भए पनि डुबोइसको आक्रमण रोक्न सकेनन्। पहिलो राउन्डको अन्त्यतिर डोरीमा थिचिएका वार्डलीमाथि डुबोइसले लगातार प्रहार गरे। राउन्ड सकिने घण्टी बजेकाले मात्र उनी थप क्षतिबाट जोगिए।
डब्लुबीओ विश्व हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धाको दोस्रो राउन्डमा पनि डुबोइसले आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिए। वार्डलीले लगातार मुक्का खाएपछि उनको पक्षबाट रिङमा तौलिया फालियो। त्यसपछि रेफ्री स्टिभ ग्रेले खेल रोक्दै डुबोइसलाई विजेता घोषित गरे।
जितपछि डुबोइसले वार्डलीलाई उत्कृष्ट योद्धाको संज्ञा दिँदै यसपटक आफ्नो समय भएको बताए। “फाबियो एक महान योद्धा हुन्, जो दोस्रो पटक मैदानमा उत्रिएका थिए। तर यो मेरो समय र मेरो युग थियो। सुरुदेखि नै मेरो मनमा कडा इरादा थियो,” उनले भने।
उनले अघिल्लो भिडन्तको तुलनामा यसपटक आफ्नो तयारी र प्रतिबद्धता प्रमाणित गर्न सफल भएको पनि बताए। “पहिलो पटक हामी निकै कठिन परिस्थितिमा थियौं। यसपटक भने हामीले मैदानमा उत्रिएर आफू कति गम्भीर छौं भनेर देखाउनु थियो, र आज राति हामीले त्यही गर्यौं,” उनले थपे।
यसअघि मे महिनामा म्यानचेस्टरमा भएको पहिलो भिडन्त निकै आक्रामक र रक्तपातपूर्ण बनेको थियो। त्यस खेलमा डुबोइस स्वयं दुई पटक नकडाउनमा परेका थिए। खेल सुरु भएको १६ सेकेन्डमै पहिलो पटक ढलेका उनी पुनरागमन गर्दै ११औँ राउन्डमा वार्डलीलाई पराजित गर्न सफल भएका थिए। उक्त हार वार्डलीको व्यावसायिक बक्सिङ करिअरकै पहिलो पराजय थियो।
युक्रेनका ओलेक्सान्डर उसिकले उपाधि त्यागेपछि नोभेम्बरमा डब्लुबीओ हेभीवेट च्याम्पियन बनेका वार्डलीले अघिल्लो भिडन्तमा देखाएको साहस र अन्तिमसम्म हार नमान्ने स्वभावका कारण प्रशंसा पाएका थिए। तर, शनिबारको पुनर्भिडन्तमा उनी म्यानचेस्टरमा देखिएको प्रदर्शन दोहोर्याउन असफल भए। डुबोइसको शक्तिशाली प्रहार र निरन्तर दबाबसामु वार्डली कमजोर देखिए र दोस्रो राउन्डमै उपाधि गुमाउन पुगे।
