`

भेरी-बबई आयोजना सक्न २०८५ असारसम्मको म्याद

Nepal One HD ३ कार्तिक २०८३ ११:३९
अर्थ समाचार

काठमाडौं । तीन वर्षमा सक्ने लक्ष्यसहित निर्माण थालिएको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजना १५ वर्ष बितिसक्दा पनि अधुरै छ। विद्युत् उत्पादन र बाँके-बर्दियाका खेतमा वर्षैभरि सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशत मात्रै पुगेको छ। अब बाँकी काम २०८५ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

आर्थिक वर्ष २०६८/६९ मा निर्माण सुरु भएको आयोजनाको वित्तीय प्रगति ६७ प्रतिशत छ। आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर भरत पाठकका अनुसार मुख्य सिभिल संरचना निर्माणमा भएको ढिलाइले समग्र आयोजना प्रभावित भएको हो। उनका अनुसार बाँकी काम पूरा गर्न अझै दुईदेखि तीन वर्ष लाग्ने अनुमान छ।

आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण भने टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट निर्धारित समयभन्दा अगावै सम्पन्न भएको थियो। तर, सुरुङ बनेपछि निर्माण गर्नुपर्ने बाँध, विद्युत्गृह र अन्य संरचनाको कामले गति लिन नसक्दा आयोजना अल्झिएको छ।

पाँचवटा निर्माण प्याकेजमा अघि बढाइएको आयोजनामा बाँध तथा विद्युत्गृह निर्माण, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा प्रसारण लाइन निर्माणको काम बाँकी छ। दोस्रो प्याकेजअन्तर्गत बाँधका छवटा संरचनामध्ये दुईवटा मात्रै सम्पन्न हुने चरणमा छन् भने सेटलिङ बेसिनको करिब ७० प्रतिशत काम सकिएको छ। विद्युत्गृह, सर्ज साफ्ट र पेनस्टक पाइपका लागि आवश्यक संरचना निर्माण भइरहेका छन्।

हाइड्रोमेकानिकल संरचना निर्माणको प्रगति ६० प्रतिशत र इलेक्ट्रोमेकानिकल उपकरण जडानको प्रगति ५५ प्रतिशत पुगेको छ। टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन उत्पादन भइसके पनि आयोजनास्थलमा जडान गर्न बाँकी छ। सिभिल संरचना तयार नहुँदा उपकरण जडान र परीक्षणको कामसमेत प्रभावित भएको छ।

आयोजना पूरा गर्न प्रसारण लाइन निर्माण पनि चुनौती बनेको छ। हात्तीखालस्थित विद्युत्गृहदेखि कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म करिब एक हजार ७०० मिटर लामो लाइन निर्माण गर्ने योजना छ। त्यसका लागि नौवटा टावर बनाइनेछ, जसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र छवटा मध्यवर्ती क्षेत्रमा पर्नेछन्। वातावरणीय प्रभाव मूल्यांकनलगायत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने काम पनि बाँकी छ।

भेरी नदीको पानी सुरुङमार्फत बबई नदीमा खसालेर ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। सुर्खेतको गुर्भाकोट नगरपालिका-११, चिप्लेमा बाँध निर्माण गरी प्रतिसेकेन्ड ४० घनमिटर पानी स्थानान्तरण गरिनेछ। आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने अपेक्षा छ।

अद्यावधिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ। विद्युत् उत्पादनबाट वार्षिक चार अर्ब तीन करोड रुपैयाँ र सिँचाइबाट तीन अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक लाभ प्राप्त हुने लक्ष्य छ। दुवै क्षेत्रबाट वार्षिक सात अर्ब १३ करोड रुपैयाँ बराबरको लाभ पुग्ने अनुमान गरिएको छ।

तर, सुरुङ निर्माण सम्पन्न भए पनि बाँध, विद्युत्गृह, उपकरण जडान र प्रसारण लाइन निर्माण पूरा नभएसम्म आयोजनाबाट अपेक्षित लाभ लिन सकिने छैन। २०८५ असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा गर्न बाँकी निर्माणलाई तीव्रता दिनुपर्नेछ। नत्र, वर्षैभरि सिँचाइ र विद्युत् उत्पादनको लाभ पाउने प्रतीक्षा अझै लम्बिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *