दिवालीसम्म दिल्लीमा प्रदर्शन नगर्न दिपकेको आग्रह
नयाँदिल्ली। ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले दीपावलीसम्म कुनै प्रदर्शनको योजना नरहेको बताउँदै आफ्ना समर्थक तथा कार्यकर्तालाई परिवारसँग समय बिताउन आग्रह गरेका छन्।
दीपकेले पार्टीका नेता सौरभ दास र आशुतोष रांकालाई जेलमा राखिएको भए पनि आन्दोलनबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले आफ्नो संघर्ष घृणाविरुद्ध रहेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कार्यकर्तालाई महात्मा गान्धीले देखाएको शान्ति र अहिंसाको बाटोमा अघि बढ्न आग्रह गरेका छन्। आन्दोलनका क्रममा उत्तेजित नहुन र संयम कायम राख्नुपर्नेमा जोड दिँदै उनले दीपावलीसम्म परिवारसँग समय बिताउन समर्थकहरूलाई अपिल गरेका हुन्।
सीजेपीका नेता सौरभ दास र आशुतोष रांका न्यायिक हिरासतमा रहेपछि पार्टीको आन्दोलन र आगामी रणनीतिबारे चासो बढेको छ। उनीहरूलाई हिरासतमा राखिएको विषयलाई लिएर समर्थकहरूले कानुनी प्रक्रिया र प्रदर्शन गर्ने अधिकारबारे प्रश्न उठाउँदै आएका छन्।
दीपकेको पछिल्लो अपिलले तत्कालका लागि सडक प्रदर्शनभन्दा शान्तिपूर्ण र संयमित गतिविधिलाई प्राथमिकता दिने संकेत गरेको छ। यद्यपि, दीपावलीपछि आन्दोलनको स्वरूप कस्तो हुने भन्नेबारे उनले स्पष्ट योजना सार्वजनिक गरेका छैनन्।
