चीन भ्रमण सकेर स्वदेश फर्किइन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चारदिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् ।
चीनको स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उनी बिहीबार चीन गएकी थिइन् । सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा शनिबार सम्बोधन गरेकी थिइन् ।
सम्बोधनका क्रममा भण्डारीले जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर क्षेत्रलगायत विषयमा धारणा राखेकी थिइन् ।
नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असर उजागर गरेको उल्लेख गर्दै उनले नेपालको जलवायु न्यायसम्बन्धी मागलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी थिइन् ।
उनले हिमालय क्षेत्रको जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलन संरक्षणका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
भण्डारीले अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति भन्दा अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने र सबै राष्ट्रका आवाजलाई सम्मान गर्ने विश्वव्यवस्था आवश्यक रहेको बताएकी थिइन् । साथै, समकालीन विश्वका विविधता र आकांक्षा प्रतिबिम्बित हुने गरी संयुक्त राष्ट्रसंघलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेकी थिइन् ।
