`

११ प्रहरीको सात दिनभित्र हाजिर नभए जागिर जाने

Nepal One HD ११ कार्तिक २०८३ १२:५५
प्रशासन

काठमाडौं । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन अन्तिम मौका दिएको छ।

तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम सूचना टाँस गर्दासमेत उनीहरू सम्पर्कमा आएका थिएनन्। त्यसपछि सार्वजनिक सूचनामार्फत गैरहाजिर रहनुको चित्तबुझ्दो कारण खुलाउने अवसर दिइएको हो।

सूचनामा तोकिएको अवधिभित्र स्पष्टीकरणसहित हाजिर नभए प्रहरी नियमावलीको नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।

हाजिर हुन निर्देशन दिइएकामा जिल्ला सशस्त्र प्रहरी गुल्म बाराका प्रहरी हवल्दार दिलिप कुमार सिंह, प्रहरी प्रभाग दरबारस्क्वायर भक्तपुरका प्रहरी जवान अनिल परियार, प्रहरी प्रभाग सानेपा ललितपुरका प्रहरी जवान संगम बि.सी. र इलाका प्रहरी कार्यालय दिल्पा भोजपुरका प्रहरी जवान सञ्जीव राई छन्।

त्यस्तै, प्रहरी चौकी चिलिङदिन पाँचथरका समीर लिम्बु, इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका सन्तोष तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका विनोद दमै र इलाका प्रहरी कार्यालय रगदा जाजरकोटका टोपबहादुर सुनारलाई पनि हाजिर हुन भनिएको छ।

सूचीमा प्रहरी चौकी स्याउले डडेल्धुराकी यसोदा कुमारी बोगटी, प्रहरी चौकी मेलबिसौना बझाङका करनबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका अमरसिंह साउदसमेत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *