सरकारी निर्देशन अटेर गरेपछि एन-प्याब्सन निलम्बित, संस्थाका गतिविधिमा रोक
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले संस्थाले पटकपटक सरकारी निर्देशन उल्लंघन गरेको र स्वीकृत विधानविपरीत गतिविधि गरेको भन्दै निलम्बनको निर्णय लिएको हो।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार एन-प्याब्सनले ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशन पालना गरेको थिएन। संस्थाका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेकोसमेत मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। उक्त छलफलमा ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको थियो। तर, त्यसको पालना नभएपछि मन्त्रालयले निलम्बनको निर्णय गरेको जनाएको छ।
निलम्बनसँगै एन-प्याब्सनका नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गर्न नपाउने भएको छ। मन्त्रालयले त्यस्ता गतिविधिलाई गैरकानुनी हुने भन्दै संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
