`

अस्पताल उद्घाटनमा रडाको, प्रहरीको गोलीले १४ वर्षीय बालक गम्भीर

Nepal One HD १६ कार्तिक २०८३ ११:११
समाज

काठमाडौं। बाराको फेटामा अस्पताल उद्घाटन गर्ने विषयले यस्तो रूप लियो कि विकासको उत्सव मनाउने भनिएको ठाउँ रणमैदानमा परिणत भयो।

गाउँपालिकाले अधुरै रहेको अस्पताल भवन उद्घाटन गर्न खोजेको भन्दै स्थानीय सडकमा उत्रिए। विरोध चर्किंदै जाँदा प्रहरीसँग झडप भयो र प्रहरीको गोली लागेर १४ वर्षीय बालक अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका छन्।

घटनाको चौतर्फी आलोचना भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्।

विवादको जड थियो– १५ शैय्याको अस्पताल उद्घाटन। फेटा गाउँपालिकाले नवनिर्मित अस्पताल भवन उद्घाटनको तयारी गरेपछि पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहित स्थानीयले विरोध जनाएका थिए। उनीहरूको आरोप थियो, निर्माणको काम पूरा नहुँदै उद्घाटनको हतारो किन ?

तर, विरोधलाई बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले शनिबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम राखे। कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटासमेत बारा पुगेकी थिइन्।

राजनीतिक संयोग पनि रोचक छ। सांसद बास्कोटा तत्कालीन विवेकशील साझा पार्टीकी अध्यक्ष थिइन् भने गाउँपालिका अध्यक्ष अंसारी पनि सोही पार्टीबाट निर्वाचित भएका थिए। उक्त पार्टी गत वर्ष रास्वपामा समाहित भइसकेको छ।

उद्घाटनको विरोधमा उत्रिएका स्थानीयले अस्पताल परिसरमा राखिएको टेन्ट र शिलालेख तोडफोड गरेपछि स्थिति नियन्त्रणबाहिर पुग्यो। प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। प्रहरीले बल प्रयोग गर्दा चलेको गोली १४ वर्षीय आदित्य पासवानको शरीरमा लाग्यो।

पछाडिबाट कम्मरमाथिको भागमा लागेको गोली शल्यक्रिया गरेर निकालिए पनि बालकको अवस्था अझै गम्भीर छ। नेशनल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामालाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ। अनावश्यक रूपमा गोली चलाएको भन्दै आन्दोलनरत पक्षले लामामाथि कारबाहीको माग गर्दै आएको थियो।

प्रहरी प्रधान कार्यालयबाट नयाँ प्रहरी निरीक्षक नआएसम्म लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई खटाइएको छ।

अब छानबिन समितिसामु मुख्य प्रश्न छ–अस्पताल उद्घाटनको विवादमा प्रहरीले कुन परिस्थितिमा गोली चलायो ? नाबालकलाई गोली लाग्ने अवस्था कसरी सिर्जना भयो ? र, बल प्रयोग आवश्यक थियो कि थिएन ? समितिको प्रतिवेदनले यी प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ।

विकासको नाममा उद्घाटनको हतारो र विरोध नियन्त्रणका नाममा बल प्रयोगको परिणाम एउटा नाबालकले भोग्नुपरेको यो घटनाले स्थानीय प्रशासन र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *