प्रधानमन्त्री बालेनलाई ज्ञानेन्द्र शाहीको कडा सन्देश – ‘कमेडी नगर्नुस्, काम गरेर देखाउनुस्’
काठमाडौं – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई आलोचक र पत्रकारको पछि लाग्नुभन्दा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सुझाव दिएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै यस्तो सुझाव दिएका हुन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सांसद शाहीले जनताले दिएको झन्डै दुई तिहाइको जनमत देश लुटेर अकुत सम्पत्ति कमाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनका लागि भएको बताएका छन् ।
उनले कसले के भन्यो र कसले आलोचना गर्यो भन्ने कुराको पछि लाग्न छोडेर प्रमाण तथा कानुनी प्रक्रियाका आधारमा भ्रष्टाचारीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
शाहीले भ्रष्टाचारीमाथि कारबाहीसँगै युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै, आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा प्रदान गर्न तथा विदेशिन बाध्य युवालाई स्वदेशमै भविष्य देखाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
उनले लेखेका छन् – सम्माननीय प्रधानमन्त्रीज्यू,
जनताले तपाईंलाई झन्डै दुई तिहाइको जनमत दिएको यो देश लुटेर ब्रह्मलुट मच्चाउनेहरूलाई कानुनी कठघरामा उभ्याउन हो। त्यसैले कसले के भन्यो, कसले आलोचना गर्यो भन्ने कुराको पछि लाग्न छोड्नुस्। प्रमाण र कानुनी प्रक्रियाका आधारमा भ्रष्टाचारीलाई कारबाही गर्नुस्, जेल हाल्नुस्।
तपाईंको प्राथमिकता स्पष्ट हुनुपर्छ :
* देश लुटेर अकुत सम्पत्ति कमाउने भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुस्।
* युवालाई आफ्नै देशमा रोजगारी र स्वरोजगारका अवसर दिनुस्।
* आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउनुस्।
* विदेशिन बाध्य युवालाई स्वदेशमै भविष्य देखाउने वातावरण बनाउनुस्।
* सुशासन, न्याय र विकासको अनुभूति जनतालाई दिलाउनुस्।
प्रधानमन्त्रीज्यू, जनताले तपाईंलाई आलोचक र पत्रकारलाई पक्राउ गर्न होइन, देश लुट्नेहरूलाई कानुनी कठघरामा उभ्याउन जनमत दिएका हुन्।
जनताले दिएको जनमतको सदुपयोग गर्नुस्। गम्भीर राष्ट्रिय जिम्मेवारीलाई हल्का रूपमा नलिनुस्। कमेडी नगर्नुस्, काम गरेर देखाउनुस्।
भ्रष्टाचारीलाई जेल हाल्नुहुन्छ भने हामी तपाईंको साथमा छौँ।
