इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ – डाेनाल्ड ट्रम्प
काठमाडाैँ। अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।
तेहरानले आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँगको वार्ता ‘सहज रूपमा नै चलिरहेको’ तर उनीहरू ‘धेरै भरपर्दो नभएको’ बताए।
रिपब्लिकन राष्ट्रपतिले अमेरिका आक्रामक कारबाही गर्न हतारमा नरहेको बताउनुभयो । ट्रम्पले आफ्नो फ्लोरिडा निवासमा पत्रकारसँग भन्नुभयो, “अमेरिकाले इरानको सैन्य र आणविक कार्यक्रमलाई पहिले नै ठूलो क्षति पुर्याइसकेको छ। हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ। अझै एक–दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै सम्हाल्न सक्छौँ।”
उनले भने, “तपाईंले पिक्याक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ, त्यसलाई पनि सम्हाल्नुपर्छ। हामी यो सबै धेरै छिटो गर्न सक्छौँ ।” पिक्याक्स माउन्टेन एक संदिग्ध भूमिगत आणविक परिसर रहेको विश्वास गरिन्छ ।
इरानी सरकारले त्यहाँ कुनै आणविक कार्य नभएको अस्वीकार गरेको छ । शनिबार नै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पले इरानमा नयाँ आक्रमण गर्ने निर्णय अझै नगरेको र अमेरिका कूटनीतिक समाधानका लागि खुला रहेको बताएका थिए।
इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका थिए।
दुवै देशमा महत्वपूर्ण चुनावपछि आक्रमण फेरि सुरु हुन सक्ने धम्की आएको थियो। ट्रम्पले यसअघि यस साताको अमेरिकी मध्यकालीन चुनावपछि आक्रमण हुन सक्ने चेतावनी दिनुभएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी सरकारलाई ढाल्ने ‘एक पटकको ऐतिहासिक अवसर’ को कुरा गरेका थिए।
दुवै देशको चुनावले द्वन्द्वको दिशा निर्धारण गर्न सक्छ । इजरायलमा मङ्गलबार आम चुनाव भइसकेको छ तर नयाँ सरकार गठन हुन बाँकी छ ।
“कुनै पनि स्तर वा प्रकारको चेतावनीलाई तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिनुपर्छ,” इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले शनिबार उच्च सैन्य कमाण्डरहरूलाई दिएको वक्तव्यमा भनेका छन्।
खामेनीले कमाण्डरहरूलाई इरानको लक्ष्य सूची अद्यावधिक गर्न आदेश दिएका थिए। यसमा ‘अमेरिकी र इजरायली यहुदी शत्रुका सबै प्रकारका मूर्त र अमूर्त सम्पत्ति’ समावेश गर्नुपर्ने उल्लेख छ।
यो खामेनी र सैन्य उच्च अधिकारीहरूबिचको पहिलो रिपोर्ट भएको बैठक हो। सर्वोच्च नेता मार्चमा आफ्ना पिता आयतुल्लाह अली खामेनी अमेरिका–इजरायल आक्रमणमा मारिएपछि जिम्मेवारी सम्हालेदेखि सार्वजनिक रूपमा देखिनुभएको छैन।
तेलको मूल्यमा उछाल
“हामी चाहेको खण्डमा सबै इरानी सैन्य लक्ष्य हासिल गर्न सक्छौँ तर राष्ट्रपति ट्रम्पले नयाँ आक्रमणबारे निर्णय गरिसक्नुभएको छैन,” विदेशमन्त्री रुबियोले भने।
युद्ध सुरु भएदेखि तेहरानले हर्मुज जलमार्गबाट हुने जहाज आवागमनमा प्रतिबन्ध लगाएको छ। युद्ध सुरू हुनुपहिले यो मार्गबाट सामान्यतया विश्वभर आपूर्ति हुने इन्धनको करिब पाँच भागको एक भाग इन्धन ढुवानी हुने गरेको थियो।
इरानले यसअघि हर्मुज जलमार्गमा रहेका समुद्री केबलहरू काट्ने विचार पनि गर्न सक्ने चेतावनी दिएको थियो।
यस नाकाबन्दीले विश्व ऊर्जा मूल्यमा उछाल ल्याएको छ जसले आगामी चुनावअघि अमेरिकी जनतामा युद्धलाई अलोकप्रिय बनाएको छ । विपक्षी डेमोक्र्याट्हरूले लाभ उठाएमा ट्रम्पको नीति कार्यान्वयन क्षमता केही हदसम्म सीमित हुन सक्छ । इजरायलको मतदानले नेतन्याहूको राजनीतिक समूहलाई संसदमा सबैभन्दा बढी सिट दिलाएको छ तर बहुमत पुगेको छैन । त्यसैले इजरायलमा अर्को प्रशासनको संरचना अस्पष्ट छ ।
युद्धको ताप
युद्ध फेरि सुरु हुन नदिन नयाँ कूटनीतिक प्रयास भइरहेका छन् । कतारका मध्यस्थकर्ताहरू शुक्रबार तेहरान पुगेका छन् भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई नयाँ प्रस्तावसहित पत्र पठाएका छन्।
“मैले पत्र पढेँ,” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रेजाईले इरानी टेलिभिजनमा प्रसारित भिडियोमा भने।
उनले भने, “मैले अझै जवाफ दिएको छैन। उनीहरूको स्वर पूर्ण रूपमा परिवर्तन भएको छ ।” उनले यसलाई ‘राम्रो सङ्केत’ बताए तर थप विवरण दिएनन्। इरानी विदेश मन्त्री अब्बास अराघचीले आइतबार हाल अमेरिकी अधिकारीहरूसँग बैठकको कुनै योजना नभएको बताए।
“इरानका शर्तहरू स्पष्ट छन् र तिनका बारेमा मध्यस्थकर्ताहरूबिच परामर्श जारी छ,” उनले इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) लाई दिएको जानकारीलाई अल जजीराले उद्धृत गरी प्रशारण गरेको छ ।
रेजाईले इरानले कुल सम्पत्ति फुकुवा समेत आफ्ना शर्तहरू पूरा नभएसम्म हर्मुज जलमार्गमा नाकाबन्दी जारी राख्ने बताए।
कतार र पाकिस्तान युद्धरत पक्षहरूबिच मध्यस्थता गरिरहेका छन् तर वार्ताले अहिलेसम्म दिगो सम्झौता दिन सकेको छैन । इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले कुनै पनि शत्रुता पुनः सुरु भएमा युद्धको दायरा मात्र फैलिने बताए।
“युद्धको आगो निःसन्देह धेरै फराकिलो भौगोलिक क्षेत्रमा फैलिने छ,” उनले सामाजिक सञ्जालमा लखेका छन्। अब कुनै ‘सिमारेखा’ रहने छैन ।”
