`

मेरा हात सफा छ, कमजोर नैतिक धरातलमा उभिएको छैन : गगन थापा [भिडियाे]

Nepal One HD २० कार्तिक २०८३ १६:२३
नेपाली कांग्रेस

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको भन्दै आफूमाथि उठेका प्रश्नको खण्डन गरेका छन्। उनले आफू निर्दोष रहेको दाबी गर्दै ‘मेरा हात सफा छन्’ भनेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै थापाले आफूलाई विश्वास गर्न आग्रह गरेका हुन्।

‘ढुक्क हुनुहोस्- म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हात सफा छन्,’ उनले भिडियोमा भनेका छन्।

उनले आफूले सत्तालाई प्रश्न गरेकै आधारमा विवादमा तान्ने प्रयास भइरहेको दाबीसमेत गरेका छन्। गलत ठाउँमा प्रश्न गर्नुको सट्टा सम्बन्धित विषय र व्यक्तिमाथि नै प्रश्न गर्नुपर्ने उनको भनाइ छ।

‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ,’ थापाले भनेका छन्।

थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै आर्थिक लेनदेन नभएको बताए ।

उनले भने, ‘विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? करोडको कुरा गर्छन् ! पार्टीको आधिकारिकताको राजनीतिक–कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन ।’

यसअघि विभिन्न सञ्चारमाध्यममा थापालाई पक्राउ गर्न सकिने चर्चासमेत चलेको थियो। इनम सापकोटाले दिएको भनिएको बयान सार्वजनिक भएपछि त्यससँग जोडिएको अडियोमा थापाको नामसमेत आएको दाबी गरिएको थियो। त्यसपछि उनीमाथि विभिन्न प्रश्न उठेका थिए। त्यसको पनि सभापति थापाले प्रतिवाद गरेका छन्। 

‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो । अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने ।

यद्यपि, सार्वजनिक भएका दाबी र अडियोमा नाम उल्लेख भएको विषयले मात्रै कुनै व्यक्तिको संलग्नता वा कसुर पुष्टि गर्दैन। थापाले भने सार्वजनिक भिडियोमार्फत आफू नैतिक रूपमा कमजोर नभएको र आफ्नो हात सफा रहेको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *