`

थापालाई महतको प्रश्न : अरूलाई आरोप लाग्दा हटाउनुपर्ने, आफूमाथि लाग्दा के गर्ने?

Nepal One HD २२ कार्तिक २०८३ १३:१४
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आरोपका विषयमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महतले विगतमा अरू नेतामाथि आरोप लाग्दा पदबाट हटाउनुपर्ने धारणा राख्नेहरूले अहिले आफूमाथि आरोप लाग्दा फरक व्यवहार देखाएको भन्दै प्रश्न उठाए।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सभापति थापामाथि बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको प्रसंग उल्लेख गर्दै उनले विगतमा राज्यसत्ताको दुरुपयोग गरेर कांग्रेसका नेताहरूलाई प्रमाणबिनै आरोपित गरिँदा विरोध गर्नेहरू अहिले आफैँमाथि प्रश्न उठ्दा असहज भएको टिप्पणी गरे।

‘अरूलाई पर्दाखेरि सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लाग्दा कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ,’ महतले भने।

उनले नेपाली कांग्रेसलाई कुनै एक व्यक्तिको इच्छाअनुसार नभई पार्टीको सिद्धान्त, विधान र संस्थागत प्रक्रियाका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको वैचारिक आधार, विधान र परम्परालाई पर्याप्त महत्त्व नदिएको उनको आरोप थियो।

महतले कांग्रेसको ऐतिहासिक अभ्यासमा फरक विचार, प्रतिस्पर्धा र आन्तरिक बहसलाई सम्मान गर्दै सबै पक्षका धारणा समेटेर निर्णय लिने परम्परा रहेको स्मरण गराए। तर पछिल्लो समय पार्टीमा संस्थागत संस्कार र वैचारिक अनुशासन कमजोर बन्दै गएको उनको भनाइ थियो।

‘न संस्कार छ, न विचार छ, न विधान छ। यस्तो कुरालाई हामीले स्वीकार गर्ने हो भने अनि हामी कांग्रेस हुन्छौँ?’ उनले प्रश्न गरे।

उनले कांग्रेसको चुनाव चिह्न रूखलाई केवल निर्वाचनमा प्रयोग हुने चिह्नका रूपमा मात्र बुझ्न नहुने बताए। रूख पार्टीको प्रजातान्त्रिक समाजवाद, राजनीतिक दर्शन र ऐतिहासिक पहिचानसँग जोडिएको प्रतीक भएको उनको भनाइ थियो।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय आउन बाँकी रहेको अवस्थामा चुनाव चिह्न र आधिकारिकताबारे अन्योल सिर्जना गरिएको भन्दै उनले चिन्ता व्यक्त गरे। आधिकारिकता कसले पाउने भन्ने अनिश्चितताले पार्टीका नेता तथा कार्यकर्तामा भय र त्रासको अवस्था उत्पन्न भएको पनि महतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *