चीनलाई ८४ रनले हराउँदै नेपाल यु-१९ महिला टोलीको लगातार चौथो जित
काठमाडौं। चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। शनिबार भएको खेलमा आयोजक चीनलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार चौथो जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४१ रन जोडेको थियो। नेपालको इनिङ्समा टीका शाहले सर्वाधिक ४३ रन बनाइन्। ३५ बल सामना गरेकी उनी अविजित रहिन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रन थपिन्।
चीनका चुनजुङ वाङ र शुतिङ याङले समान दुई विकेट लिए।
१४२ रनको लक्ष्यसहित मैदान उत्रिएको चीन नेपाली बलरमाझ टिक्न सकेन। घरेलु टोली १३.३ ओभरमै ५७ रनमा अलआउट भयो। चीनका युफेई सुनले २७ बलमा २८ रन बनाउनु नै टोलीको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।
नेपालका रचना चौधरी र टीका शाहले समान तीन विकेट लिए। ब्याटिङमा ४३ रन बनाउनुका साथै बलिङमा पनि तीन विकेट झारेकी टीका खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा नेपालसँगै आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी छन्। आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकपलाई लक्षित गर्दै नेपाली टोलीले चीनमा यो शृङ्खला खेलिरहेको छ। लगातार चार जितसँगै नेपालको प्रदर्शनले विश्वकप तयारीमा सकारात्मक संकेत दिएको छ।
