लोडसेडिङको अन्धकार हटायौँ, अब उत्पादित विद्युत्लाई आर्थिक समृद्धिमा बदल्नुपर्छ – कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालले लोडसेडिङ अन्त्य गरेर ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरे पनि उत्पादित विद्युत्को अधिकतम उपयोग र निर्यात सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौती बनेको बताएका छन्।
२०७३ सालको लक्ष्मीपूजादेखि लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु गरिएको स्मरण गर्दै घिसिङले दृढ इच्छाशक्ति, कुशल व्यवस्थापन, सामूहिक प्रयास र आमनागरिकको सहयोगबाट असम्भवजस्तै देखिएको काम सम्भव भएको बताएका हुन्।
उनका अनुसार नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १०५ वर्षसम्म अर्थात् २०७३ सालसम्म विद्युत् उत्पादन क्षमता करिब ८०० मेगावाट मात्रै पुगेको थियो। तर पछिल्लो १० वर्षमा जलविद्युत् र सौर्य ऊर्जासहित कुल उत्पादन क्षमता बढेर करिब ४ हजार २०० मेगावाट पुगेको छ। थप ७ हजारदेखि ८ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासमेत विभिन्न चरणमा निर्माणाधीन छन्।
घिसिङले हिजो दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोर्नुपर्ने नेपाल अहिले भारत र बंगलादेशसम्म विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
तर, विद्युत् उत्पादन बढे पनि आन्तरिक माग र निर्यात बजार व्यवस्थापन प्रभावकारी हुन नसक्दा ठूलो परिमाणमा विद्युत् खेर जाने अवस्था रहेको उनको भनाइ छ।
उनका अनुसार यस वर्षको लक्ष्मीपूजाको उच्च मागको समयमा समेत करिब ५०० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्दा थप करिब ५०० मेगावाट विद्युत् खेर जाने अवस्था आएको थियो। त्यस्तै, राति र दिउँसो न्यून माग हुने समयमा निर्यातपछि पनि एक हजार मेगावाटभन्दा बढी विद्युत् खेर जाने अवस्था देखिएको उनले बताएका छन्।
भोटेकोशीमा आएको बाढीका कारण करिब ५०० मेगावाट क्षमताका जलविद्युत् उत्पादन केन्द्र बन्द अवस्थामा रहेको पनि उनले उल्लेख गरेका छन्।
भारततर्फ विद्युत् निर्यातका लागि आवश्यक आयोजनागत स्वीकृति समयमै प्राप्त हुन नसक्दा विद्युत् खेर जाने र देशले करोडौँ रुपैयाँको सम्भावित आम्दानी गुमाउनुपर्ने अवस्था चिन्ताजनक रहेको घिसिङको भनाइ छ।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्वलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन्। भारतबाट विद्युत् निर्यातका लागि आवश्यक आयोजनागत सहमति तथा स्वीकृति समयमै प्राप्त गर्न प्रभावकारी पहल र समन्वय गर्नुपर्नेमा उनले जोड दिएका छन्।
त्यसैगरी, निर्यात बजार विस्तार, स्वदेशमै विद्युत् खपत वृद्धि तथा आवश्यक प्रसारण पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।
आगामी वर्षहरूमा थप हजारौँ मेगावाट विद्युत् उत्पादन हुने सम्भावना रहेकाले आन्तरिक खपत विस्तार र निर्यात बजार सुनिश्चितताका लागि अहिलेदेखि नै योजनाबद्ध काम गर्नुपर्ने उनले बताएका छन्।
“हिजो हामीले लोडसेडिङको अँध्यारो हटायौँ। अब उत्पादित विद्युत्को एक–एक युनिटलाई देशको आम्दानी, रोजगारी र आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्छ,” घिसिङले भनेका छन्।
