एसियन नेशन कप चेस खेल्न नेपाली टोली अबुधाबी प्रस्थान
काठमाडौं । एसियन नेशन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीतर्फ प्रस्थान गरेको छ ।
एसियन चेस फेडेरेसनको निमन्त्रणामा प्रतियोगितामा भाग लिन लागेको नेपाली टोलीमा युवा खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीमा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल, क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल, रिसोन थापा, निकेन कुसाथा र मुहान नर्सिङ श्रेष्ठ छन् ।
प्रतियोगितामा रुपेश जैसवालले २१५१ रेटिङसहित पहिलो बोर्डबाट प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, २०९३ रेटिङ भएका पुरुषोत्तम सिलवाल दोस्रो, २०७५ रेटिङका रिसोन थापा तेस्रो, २००७ रेटिङका निकेन कुसाथा चौथो र १९८३ रेटिङका मुहान नर्सिङ श्रेष्ठ पाँचौँ बोर्डमा रहनेछन् ।
यसअघि ४६औँ चेस ओलम्पियाडमा नेपाली टोलीले उल्लेखनीय प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेको थियो । पदकको नजिक पुगे पनि अन्तिम चरणमा नेपाल पदक जित्नबाट चुकेको थियो । उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले व्यक्तिगत रूपमा पनि क्यान्डिडेट मास्टर उपाधि हासिल गरेका थिए भने नेपाल विश्व च्याम्पियनसिपका लागि छनोट हुन सफल भएको थियो ।
यसपटकको एसियन नेशन कपमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । व्यक्तिगत उपाधि जित्नुका साथै एसियाली स्तरमा नेपालको रेटिङ र वरीयता सुधार गर्ने नेपाली टोलीको उद्देश्य रहेको छ ।
स्विस लिग प्रणालीमा खेलाइने प्रतियोगिता नौ चरणसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित रुस, चीन, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, यूएई, उज्बेकिस्तान, काजाकिस्तान र मलेसियालगायत २१ देशका टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।
