चाडपर्वमा साइबर ठगको जगजगी, सतर्क रहन आग्रह
काठमाडौं । चाडपर्व नजिकिएसँगै अनलाइन किनमेल र डिजिटल भुक्तानी बढ्न थालेको छ । कारोबार सहज बन्दै जाँदा साइबर अपराधीले पनि यही अवसरलाई ठगीको माध्यम बनाउन सक्ने जोखिम बढेको छ ।
उपहार, क्यासब्याक, चिठ्ठा र आकर्षक छुटको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने सम्भावनालाई ध्यानमा राख्दै इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा एडभाइजरी २०२६ जारी गरेको छ ।
एनपीसर्टले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सम्भावित साइबर आक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
एडभाइजरीमा चाडपर्वका बेला वित्तीय प्रणाली र व्यक्तिगत खातालाई लक्षित गरी फिसिङ, र्यान्समवेयर तथा डिडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) आक्रमण हुन सक्ने जोखिम औंल्याइएको छ । नक्कली इमेल, सन्देश र वेबसाइटमार्फत प्रयोगकर्ताका गोप्य विवरण चोरी गर्ने तथा डिजिटल सेवा अवरुद्ध पार्ने प्रयास हुन सक्ने एनपीसर्टको चेतावनी छ ।
बैंक तथा वित्तीय संस्था र डिजिटल भुक्तानी सेवा प्रदायकलाई एनपीसर्टले पाँचवटा सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ ।
अनलाइन कारोबारमा हुने शंकास्पद गतिविधि तत्काल पहिचान गर्न २४ सै घण्टा सेक्युरिटी अपरेसन्स सेन्टर (एसओसी) सक्रिय राख्नुपर्नेछ । चाडपर्वका छुट तथा उपहारको नाममा आउने नक्कली इमेल र सन्देश नियन्त्रण गर्न प्रभावकारी फिसिङ फिल्टरिङ प्रणाली लागू गर्न पनि भनिएको छ ।
त्यस्तै, सर्भर, भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र मोबाइल बैंकिङ एप नियमित अद्यावधिक गरी सुरक्षा कमजोरी हटाउनुपर्नेछ । डिडस आक्रमणबाट डिजिटल सेवा अवरुद्ध हुन नदिन एन्टी डिडस प्रणाली सक्रिय राख्ने र महत्वपूर्ण तथ्यांकको सुरक्षित अफलाइन ब्याकअप गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।
ठूलो रकम तथा अस्वाभाविक कारोबारलाई स्वचालित प्रणालीमार्फत निगरानी गरी शंकास्पद गतिविधि देखिए तत्काल आवश्यक कदम चाल्नुपर्ने एनपीसर्टको भनाइ छ ।
सर्वसाधारणलाई सामाजिक सञ्जाल, एसएमएस र ह्वाट्सएपमा आउने क्यासब्याक, उपहार तथा चिठ्ठाको प्रलोभन देखाउने अपरिचित लिंक नखोल्न आग्रह गरिएको छ ।
त्यस्ता लिंकमार्फत व्यक्तिगत विवरण र बैंक खातासम्बन्धी सूचना चोरी हुन सक्ने जोखिम रहन्छ । बैंक तथा डिजिटल वालेटका ओटीपी, पिन र पासवर्ड कसैलाई पनि दिन नहुने एनपीसर्टले स्पष्ट पारेको छ । बैंकका प्रतिनिधिले समेत फोन वा सन्देशमार्फत यस्ता गोप्य विवरण माग्दैनन् ।
सार्वजनिक स्थानमा उपलब्ध खुला वाइफाइ प्रयोग गरेर मोबाइल बैंकिङ तथा अनलाइन भुक्तानी नगर्न पनि उपभोक्तालाई सचेत गराइएको छ ।
डिजिटल ठगीमा परेको वा शंकास्पद गतिविधि देखिएको अवस्थामा ढिलाइ नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन एनपीसर्टले आग्रह गरेको छ । आवश्यक परे खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउनुपर्नेछ ।
त्यस्तै, घटनाको विवरण नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता गराउन पनि सुझाव दिइएको छ ।
डिजिटल कारोबारले चाडपर्वको किनमेल र भुक्तानी सहज बनाएको छ । तर, सामान्य असावधानीले आर्थिक क्षति निम्त्याउन सक्ने भएकाले आकर्षक अफरको लोभमा अपरिचित लिंक खोल्ने वा गोप्य विवरण साझा गर्ने गल्ती नगर्न एनपीसर्टले सचेत गराएको छ ।
डिजिटल नीति, उदीयमान प्रविधि तथा साइबर सुरक्षाको क्षेत्रमा कार्यरत सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई नेपाल) को समर्थनमा एनपीसर्टले उक्त एडभाइजरी जारी गरेको हो ।
