कालो पहिरनमा बालेन, ब्याकग्राउन्ड गीत ‘लुसिफर’
काठमाडौं। ‘लुसिफर’को उपनाम पाएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा फरक अवतारमा देखिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले सार्वजनिक गरेको एउटा तस्बिर र त्यसमा प्रयोग गरिएको ‘लुसिफर’ गीतले ‘लुसिफर’ भन्ने उनको पुरानो आरोप चर्चामा ल्याएको छ।
कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा हल्का फुलेको कपालमा देखिएका बालेनले एक हातले कपाल मिलाउँदै क्यामेरातिर हेरेको तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनले पृष्ठभूमिमा ‘लुसिफर’ गीत राखेका छन् भने क्याप्सनमा मुस्कानको इमोजी मात्रै छ ।
बालेनको यो पोस्ट सामान्य रमाइलोका लागि गरिएको हुन सक्छ । तर ‘लुसिफर’ शब्दसँग उनको नाम जोडिएर यसअघि नै विवाद र बहस भइसकेकाले यसपटकको सांगीतिक छनोटले पनि अनेक अर्थ लगाउने ठाउँ दिएको छ ।
बालेनको राजनीतिक शैली, परम्परागत राजनीतिक शक्तिसँगको टकराव र जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमका बीच सामाजिक सञ्जालमा उनलाई जोडेर ‘लुसिफर’ शब्द प्रयोग हुँदै आएको थियो ।
समर्थकहरूले यसलाई पुरानो सत्ता संरचनाविरुद्धको विद्रोहको प्रतीकका रूपमा व्याख्या गर्ने गरेका छन् भने आलोचकहरूले यही शब्दलाई नकारात्मक अर्थमा प्रस्तुत गर्दै आएका छन् ।
धार्मिक मान्यतामा ‘लुसिफर’लाई पतित स्वर्गदूत तथा शैतानसँग जोडेर व्याख्या गरिन्छ । तर साहित्यिक, सांस्कृतिक र सांकेतिक प्रयोगमा यो शब्द विद्रोह, स्थापित मान्यताविरुद्धको चुनौती र नकारात्मकताको विम्बका रूपमा समेत प्रयोग हुँदै आएको छ ।
यसपटक बालेनले किन यही गीत रोजे भन्नेबारे भने केही खुलाएका छैनन् । न कुनै राजनीतिक सन्देश दिएका छन्, न पुरानो विवादबारे मुख खोलेका छन् । तर प्रधानमन्त्रीको एउटा तस्बिर र त्यसमा बजेको गीतले नै पुरानो ‘लुसिफर’ बहसलाई पुनः ब्युँताएको छ ।
राजनीतिमा शब्द र संकेतको पनि आफ्नै अर्थ लगाइने गर्छ । बालेनको यो पोस्ट पनि त्यही कारण चर्चाको विषय बनेको छ ।
