`

छठको स्वागतमा काठमाडौंका नदी किनार सजिँदै

Nepal One HD २७ कार्तिक २०८३ १२:१६
समाचार

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, पोखरी तथा जलाशयमा चहलपहल बढेको छ । पछिल्ला वर्षमा उपत्यकामा छठ मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि १७ स्थानमा छठ घाट निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु र वंशीघाटलगायत क्षेत्रमा छठ पूजाका लागि घाट सजाउनेदेखि सरसफाइ र आवश्यक पूर्वाधार निर्माणका काम भइरहेका छन् । व्रतालु तथा भक्तजनलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन तयारी भइरहेको छ ।

त्यस्तै, गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । पूजास्थलमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने र नदी किनार सफा गर्ने काम भइरहेको छ ।

काठमाडौंमा गौरीघाट र गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खुलगायत स्थानमा छठ पूजा गरिन्छ । त्यस्तै, विष्णुमती र नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि छठ मनाउने गरिन्छ ।

काठमाडौं महानगरपालिकाले विगतदेखि नै कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुको कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ ।

चार दिनसम्म मनाइने छठ पर्वमा व्रतालुले कठोर धार्मिक विधि र निष्ठाका साथ सूर्यको उपासना गर्छन् । यस क्रममा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर साँझ अस्ताउँदो र बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

यस वर्ष कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । साथै, कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *