`

लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगरको प्लेअफ सम्भावना बलियो

Nepal One HD २७ कार्तिक २०८३ १६:२४
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको यात्रा लिग चरणमै समाप्त भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर किंग्ससँग ४ विकेटले पराजित भएपछि पोखरा प्रतियोगिताबाट बाहिरिएको हो ।

पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै विराटनगरले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३८ रन बनाए । उनले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । त्यस्तै लोकेश बमले २७ बलमा २ छक्का र २ चौकासहित ३३ रन बनाए ।

इसुरु उडानाले १२ बलमा १ छक्का र ४ चौकासहित अविजित २५ रन बनाए भने शेहान जयसूर्यले १४ बलमा २ चौकासहित अविजित १७ रन बनाए।

बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले समान २ तथा विपिन खत्री र धनञ्जय लक्षणले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७ ओभर ३ बलमा १३२ रनमा अलआउट भएको थियो ।

त्यस्तै, पोखराका युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४७ बलमा ५ छक्का र ७ चौकाको मद्दतमा ८४ रन बनाए । त्यस्तै धनन्जय लक्सनले १५ बलमा १ छक्का र १ चौकासहित २२ रन जोडे ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए । उनको उत्कृष्ट बलिङले पोखराको ब्याटिङ धराशायी बनेको थियो ।

यस जितसँगै विराटनगरले ६ खेलबाट ६ अंक जोडेको छ । टोली अंकतालिकाको चौथो स्थानमा उक्लिँदै प्लेअफ दौडमा आफूलाई बलियो बनाएको छ ।

साथै, उता पोखरा भने ६ खेलबाट दुई अंकमा सीमित हुँदै लिग चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *