स्पेनमा आवास महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप
काठमाडौं । आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेको छ । राजधानी म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
अधिकारीहरूका अनुसार म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए । सन् २०१२ यताकै पहिलो राष्ट्रव्यापी २४ घण्टे हडतालका क्रममा लाखौँ नागरिक सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा मास्क र हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै आगजनीसमेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । बार्सिलोनामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
आगामी नोभेम्बर २९ मा हुने मध्यावधि निर्वाचनअघि भएको प्रदर्शनलाई सरकारप्रतिको बढ्दो जनअसन्तुष्टिका रूपमा हेरिएको छ । प्रदर्शनकारीहरूले आवासको मूल्य नियन्त्रण गर्न र सर्वसाधारणको पहुँचमा हुने गरी सुलभ आवासको व्यवस्था गर्न माग गरेका छन् ।
म्याड्रिडमा प्रदर्शनकारीहरूले घरको आकारका प्लेकार्ड बोकेर ‘हामीसँग घर छैन’ भन्दै नाराबाजी गरेका थिए । बार्सिलोनामा पनि हजारौँ मानिसले घरभाडा नियन्त्रणको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूका अनुसार आम्दानीको ठूलो हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था छ ।
देशका विभिन्न सहरमा भएका प्रदर्शनका कारण सार्वजनिक यातायात र केही व्यावसायिक गतिविधिसमेत प्रभावित भएका थिए । मजदुर सङ्गठन युजिटीले हडताललाई ठूलो सफलता भनेको छ भने रोजगारदाता सङ्गठनले अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको दाबी गर्दै हडताल असफल भएको जनाएको छ ।
प्रधानमन्त्री पेड्रो सान्चेजले सन् २०२७ मा हुनुपर्ने निर्वाचन यसै महिना अगाडि सारेका थिए । उनको अल्पमत सरकारले आवाससम्बन्धी प्रस्तावित सुधारका उपाय संसद्बाट पारित गराउन नसकेपछि निर्वाचन घोषणा गरिएको हो ।
साथै, आवास सङ्कट समाधानका लागि सरकारमाथि दबाब बढाउने उद्देश्यले श्रमिक सङ्गठनहरूले देशव्यापी हडताल आह्वान गरेका हुन् ।
