इरानमाथि फेरि हमला गर्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे जुनसुकै बेला हमला गर्न तयार रहेको उनको भनाइ छ । ट्रम्पको पछिल्लो अभिव्यक्ति र इरानको जवाफी कारबाहीको दाबीले मध्यपूर्वमा जारी तनाव थप चर्किने संकेत देखिएको छ ।
बिहीबार सेलम न्युज नेटवर्कसँगको अन्तर्वार्तामा ट्रम्पले आवश्यक परे तत्कालै इरानमाथि आक्रमण गर्न आफू पछि नहट्ने बताएका हुन् ।
‘यदि मलाई परिस्थिति गलत दिशातर्फ अघि बढिरहेको महसुस भयो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले नै पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुने छैन,’ उनले भने ।
अन्तर्वार्ताका क्रममा ट्रम्पलाई आफ्नो कार्यकाल समाप्त हुँदासम्म इरानको वर्तमान सरकार सत्तामै रहेमा त्यसलाई आफ्नो पराजय मान्ने कि नमान्ने भनेर सोधिएको थियो । जवाफमा उनले त्यसलाई निश्चित रूपमा आफ्नो हार मानिने बताए ।
त्यस्तै, पत्रकार ह्यु हेविटले इरानले कुनै वरिष्ठ अमेरिकी अधिकारीको हत्या गरेमा अमेरिकाले कस्तो प्रतिक्रिया जनाउँछ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा ट्रम्पले त्यस्तो अवस्था आए इरानमा केही पनि बाँकी नरहने भन्दै कडा चेतावनी दिए ।
यसैबीच, ट्रम्पले इरानसँग वार्तामार्फत सम्झौता गर्ने सम्भावनाप्रति अनिच्छा देखाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले इरानसँग सम्झौता गर्ने समय सकिएको संकेत गर्दै उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको वार्ताभन्दा अमेरिकाका आन्तरिक विषयमा ध्यान दिन निर्देशन दिएका छन् ।
यसअघि युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासमा भान्सले भूमिका निर्वाह गर्दै आएका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिले वार्ताबाट समाधान खोज्ने प्रयास थप जटिल बन्न सक्ने देखिएको छ । यद्यपि क्षेत्रीय मध्यस्थकर्ताहरूले कूटनीतिक पहल जारी राखेका छन् ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी सेनाको प्रारम्भिक चेतावनी प्रणालीको राडार नष्ट गरेको दाबी गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित सिरिक क्षेत्रमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप बहराइनस्थित राडारलाई निशाना बनाइएको हो । इरानी सञ्चारमाध्यमका अनुसार सिरिक क्षेत्रमा रहेको दूरसञ्चार टावरमाथि अमेरिकी आक्रमण भएपछि उक्त कारबाही गरिएको हो ।
आईआरजीसीले यसलाई अमेरिकाका लागि गम्भीर चेतावनी भन्दै होर्मुज जलमार्ग क्षेत्रमा हवाई गतिविधि तथा तेल तस्करीसँग सम्बन्धित गतिविधि बन्द गर्न आग्रह गरेको छ । यस्ता गतिविधि र आक्रमण दोहोरिए विश्वको जुनसुकै स्थानमा पनि जवाफी कारबाही गर्न आफ्नो एयरोस्पेस फोर्स तयार रहेको इरानले चेतावनी दिएको छ ।
तर बहराइनस्थित अमेरिकी राडार नष्ट भएको इरानको दाबीको स्वतन्त्र पुष्टि भएको छैन । अमेरिका र बहराइनले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
अमेरिका र इरानबीचको तनावको अर्को प्रमुख केन्द्र होर्मुज जलमार्ग बनेको छ । विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास आपूर्ति मार्गका रूपमा रहेको यस जलमार्गमा इरानले आवागमन सीमित गर्ने प्रयास गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी कायम राखेको छ ।
यसैबीच, इरानका संसद् सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले होर्मुज जलमार्ग अब युद्धअघिको अवस्थामा फर्कन नसक्ने बताएका छन् ।
ट्रम्पले कतारको मध्यस्थतामा भइरहेको कूटनीतिक प्रयासबाट सहमति ननिस्किए पुनः सैन्य कारबाहीमा फर्किन तयार रहेको बताउँदै आएका छन् । अर्कोतर्फ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आर्थिक दबाब र नाकाबन्दी प्रभावकारी भइरहेकाले तत्काल ठूलो सैन्य कारबाही आवश्यक नरहेको बताएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको थियो । त्यसयता इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ भने अमेरिकाले इरानमाथि सैन्य र आर्थिक दबाब कायम राखेको छ ।
