अवैध सुन खानी बन्द गराउँदा गिनीमा रक्तपात, १० जनाको मृत्यु
काठमाडौं । अवैध सुन खानी सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन गराउन खोज्दा पश्चिम अफ्रिकी मुलुक गिनीमा ठूलो रक्तपात भएको छ ।
सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ भने सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।
गिनीको उत्तरपूर्वी क्षेत्र सिगुइरी जिल्लामा बुधबार भएको घटनाले अवैध सुन उत्खननविरुद्ध सरकारको अभियानलाई हिंसात्मक मोड दिएको छ । नोभेम्बर २ देखि अवैध खानी बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई स्थानीय प्रदर्शनकारीले रोक्न खोजेपछि तनाव बढेर झडपमा परिणत भएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घटनाको छानबिनका लागि सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ । प्रतिबन्ध कार्यान्वयन गर्ने क्रममा सुरक्षा निकायले सुन उत्खननमा संलग्न दशौँ हजार विदेशी नागरिकलाई प्रभावित क्षेत्रबाट हटाएको छ ।
कारबाहीपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । स्थानीय बासिन्दासमेत सुरक्षा अवस्थाका कारण घरबाहिर निस्कन डराउन थालेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार झडपपछि घटनास्थलमा शव छरिएका थिए भने केही पसलमा तोडफोडसमेत भएको थियो ।
घाइतेका आफन्तले सुरक्षा निकायको कडा निगरानीका कारण उपचारका लागि आवश्यक सहयोग जुटाउनसमेत कठिन भएको बताएका छन् ।
सरकारी प्रतिबन्धको असर गिनीको सीमाबाहिर पनि देखिन थालेको छ । ठूलो संख्यामा मानिस छिमेकी मुलुक मालीतर्फ पलायन भएका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गरेको छ ।
अवैध सुन उत्खनन नियन्त्रण गर्ने सरकारी अभियानले एकातिर हजारौँ मजदुरको रोजीरोटी खोसेको छ भने अर्कोतिर सुरक्षा र मानवीय संकटसमेत निम्त्याएको छ ।
