`

शेर्पा पोशाक लगाउँदा वनमन्त्री विवादमा

Nepal One HD २८ कार्तिक २०८३ ११:३२
बिशेष

काठमाडौं । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हिमाली पहिचान देखाउन खोज्दा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी आफैँ सांस्कृतिक विवादमा तानिएकी छन् ।

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा शेर्पा समुदायको परम्परागत पोशाक लगाएर पुगेकी मन्त्री चौधरीको पहिरनलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।

विवादको विषय मन्त्रीले शेर्पा पोशाक लगाउनु होइन, लगाउने तरिका हो । शेर्पा समुदायका अगुवाहरूले परम्परागत पहिरनको मौलिक स्वरूप र त्यससँग जोडिएको सांस्कृतिक मर्यादालाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले फेसबुकमार्फत मन्त्रीको पहिरनप्रति आपत्ति जनाएकी छन् । उनका अनुसार शेर्पा महिलाले कम्मरमा बाँध्ने धर्के एप्रोन ‘पाङदेन’ उल्टो र छोटो पारेर लगाइएको छ । परम्परागत आङ्गीमाथि आधुनिक कोट लगाइएको दृश्यले पनि पहिरनको मौलिकता बिगारेको उनको टिप्पणी छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी १९० देशका प्रतिनिधिले यस्तो पहिरन देख्दा शेर्पा समुदायको संस्कृतिबारे कस्तो धारणा बनाउलान् ?, शेर्पाले प्रश्नगरेकी छन्। 

हिमाली मुद्दा उठाउन शेर्पा समुदायकै पोशाक लगाउनुपर्ने बाध्यता नरहेको उनको तर्क छ । मन्त्रीकै हैसियतमा नेपालको हिमाली समस्या र जलवायु परिवर्तनको असरबारे आवाज उठाउन सकिने भन्दै उनले संस्कृति प्रदर्शन गर्ने हो भने त्यसको विधि र मर्यादा पनि बुझ्नुपर्ने बताएकी छन् ।

उनले सगरमाथामार्फत नेपाललाई विश्वभर चिनाउने र हिमालको संरक्षणमा योगदान पुर्‍याउने शेर्पा समुदायको पहिचानलाई हल्का रूपमा लिन नहुने उल्लेख गरेकी छन् । पहिरन शरीर ढाक्ने वस्तु मात्र नभई जातीय इतिहास, परम्परा र पहिचानको प्रतीक भएको उनको भनाइ छ । यही कारण मन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत उठाइएको छ ।

मन्त्री चौधरीले भने हिमाली क्षेत्रको संस्कृति र जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले उक्त पोशाक रोजेको बताइएको छ । तर, उद्देश्य राम्रो भए पनि प्रस्तुतिको शैलीमाथि प्रश्न उठेपछि सम्मेलनको सन्देशभन्दा पहिरनको विवाद चर्चामा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *