`

गाजाको अस्पतालमा इजरायली हमला, चिकित्सक र बालकसहित ६ जनाको मृत्यु

Nepal One HD २८ कार्तिक २०८३ १३:२७
विश्व

काठमाडौं । युद्धविराम लागू भएको अवस्थामा पनि इजरायलले गाजामा आक्रमण जारी राखेको छ । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा इजरायली सेनाले गरेको हवाई आक्रमणमा चिकित्सक र १३ वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ । आक्रमणमा २८ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान अस्पतालको शल्यचिकित्सा विभाग रहेको भवनलाई लक्षित गरी आक्रमण गरिएको थियो । मृत्यु हुनेमा अस्पतालका चिकित्सक डा. रिज्क अबु शुवाइरा पनि छन् ।

आक्रमणबाट अस्पतालको शल्यक्रिया कक्ष, सघन उपचार कक्ष (आईसीयू) र स्वास्थ्यलाभ कक्षमा क्षति पुगेको छ । बिरामीको उपचार भइरहेको अस्पतालमै भएको आक्रमणले स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पतालमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भन्दै निन्दा गरेको छ । घटनामा संलग्नलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँग आग्रहसमेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अस्पतालमाथिको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य संस्थालाई सैन्य प्रयोजनमा प्रयोग नगर्न र आक्रमणबाट जोगाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

डब्लुएचओका अनुसार सन् २०२३ अक्टोबरदेखि गाजाका स्वास्थ्य पूर्वाधारमाथि १ हजार ५० भन्दा बढी आक्रमण भइसकेका छन् । ती घटनामा १ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । निरन्तरको आक्रमण र औषधि तथा स्वास्थ्य सामग्रीको अभावले गाजाको स्वास्थ्य प्रणाली नै संकटमा परेको छ ।

यता इजरायली सेनाले भने हमासको खान युनिस ब्रिगेडका वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइलसहित सक्रिय लडाकुलाई लक्षित गरी कारबाही गरिएको दाबी गरेको छ । अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेको र आक्रमणअघि चेतावनी दिइएको इजरायली सेनाको भनाइ छ ।

अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि गाजामा आक्रमण र हिंसात्मक घटनाहरू रोकिएका छैनन् । नासेर अस्पतालमाथिको पछिल्लो आक्रमणले युद्धविरामको कार्यान्वयन र युद्धका बीच सर्वसाधारण तथा स्वास्थ्य संस्थाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *