`

पाटनमा आजदेखि ३८६ वर्ष पुरानो कात्तिक नाच सुरु

Nepal One HD २८ कार्तिक २०८३ १२:५४
अध्यात्म
काठमाडौं । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहर मानिने ऐतिहासिक कात्तिक नाच आजदेखि ललितपुरको पाटनमा सुरु हुँदै छ । करिब ३८६ वर्ष पुरानो इतिहास बोकेको कात्तिक नाच यस वर्ष १२ दिनसम्म सञ्चालन हुने भएको छ ।

कात्तिक नाच संरक्षण समितिका अनुसार कात्तिक २७ देखि मंसिर ८ गतेसम्म हरेक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक कात्तिक डबलीमा नाच प्रदर्शन गरिनेछ ।

नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक उद्देश्यले कात्तिक नाच सुरु गराएका थिए । नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यो नाच नेपालको पुरानो नाट्य परम्परामध्ये एक हो ।

कात्तिक नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोककथामा आधारित नाटक र नृत्य प्रस्तुत गरिन्छ । यसले धार्मिक आस्था र मनोरञ्जनसँगै नेवारी कला, संगीत र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको छ ।

त्यस्तै, यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायत प्रस्तुति रहनेछन् । यस वर्षको विशेष आकर्षण भने ७६ वर्षपछि पुनः मञ्चन हुन लागेको ‘माधवानर लीला’ रहनेछ ।

कुनै समय एक महिनासम्म प्रदर्शन हुने कात्तिक नाच पछिल्लो समय विभिन्न कारणले छोटिँदै आएको छ । कोरोना महामारीका कारण २०७७ सालमा दुई दिनमा सीमित भएको यो नाच हाल १२ दिनसम्म सञ्चालन हुँदै आएको छ ।

ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको कात्तिक नाचको संरक्षणमा आर्थिक अभाव र नयाँ पुस्तामा परम्परा हस्तान्तरणको चुनौती देखिएको छ । नाचको संरक्षण तथा विस्तारका लागि समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ ।

साथै, विगतकाे परम्पराअनुसार कात्तिक नाचलाई पुनः २७ दिनसम्म सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । त्यसका लागि स्थानीय सरकार, संस्कृतिप्रेमी र सर्वसाधारणको सहयोग आवश्यक रहेको समितिले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *