‘बाटुलो जून’ले पहिलो दिनमै कमायो १ कराेड ३० लाख
काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । बिहीबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन १ करोड ३० लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै अनमोलको करिअरकै सबैभन्दा ठूलो ओपनिङको रेकर्ड बनाएको हो ।
प्रदर्शनको पहिलो दिन बिहानैदेखि चलचित्रप्रति दर्शकको आकर्षण देखिएको थियो । निर्माण पक्षका अनुसार बिहान ११ बजेसम्म चलचित्रले ६२ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । दिउँसो ४ बजेसम्म यो आँकडा बढेर १ करोड ३ लाख ४१ हजार रुपैयाँ पुगेको थियो । रातिका शोसमेत जोड्दा पहिलो दिनको कुल व्यापार १ करोड ३० लाख रुपैयाँ नाघेको हो ।
त्यस्तै, चलचित्रले देशभरका हलमा २६० भन्दा बढी शो पाएको थियो । तीमध्ये २०० भन्दा बढी शो हाउसफुल भएको वितरकको दाबी छ । पहिलो दिनको दर्शक चाप र व्यापारले चलचित्रप्रति दर्शकको चासो उच्च रहेको देखाएको छ ।
यससँगै ‘बाटुलो जून’ अनमोल केसीको अभिनय यात्राकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । निर्माण टिमले यसलाई सिक्वेल नभएको नेपाली चलचित्रमध्ये पनि उल्लेखनीय ओपनिङका रूपमा प्रस्तुत गरेको छ ।
शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको चलचित्रले व्यापार थप बढाउने अपेक्षा गरिएको छ । पहिलो दिनको उत्साहजनक व्यापारलाई निरन्तरता दिन सके चलचित्रले बक्स अफिसमा थप नयाँ कीर्तिमान बनाउन सक्ने देखिन्छ ।
