मन्त्री महावीरको मासु-मदिरा विवाद
काठमाडौं । सादगी जीवनशैली र सरल स्वभावका कारण चर्चामा रहने मन्त्री महावीर पुन यतिबेला मासु–मदिराको भोजका कारण विवादमा तानिएका छन् ।
तिहारको अवसरमा साथीभाइसँग गरेको निजी जमघटको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको भोजलाई लिएर टीकाटिप्पणी सुरु भएको हो ।
भोजमा ह्विस्की, वाइन र बियरका बोतल देखिएपछि मन्त्री पुनको सादगीमाथि नै प्रश्न उठाउनेहरू सक्रिय भए। सामान्य जीवनशैलीको सन्देश दिँदै आएका मन्त्रीको निजी जमघटमा मदिराको व्यवस्था देखिएपछि आलोचना चुलिएको हो ।
विवाद बढ्दै गएपछि पुन आफैंले सामाजिक सञ्जालमार्फत भोजको हिसाबकिताब सार्वजनिक गरे । उनले उक्त कार्यक्रम कुनै सरकारी वा औपचारिक भोज नभई साथीभाइबीचको सामान्य भेटघाट भएको स्पष्टीकरण दिएका छन् । भोज आफ्नै डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको उनको भनाइ छ ।
पुनका अनुसार भोजका लागि तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु तथा सागसब्जी, धनियाँ, मुला र काँक्रो खरिद गरिएको थियो । खाना चित्र र लुकेश भाइले तयार पारेका थिए भने मदिराको व्यवस्था साथीहरूले नै गरेका थिए । ह्विस्की, वाइन, कोदोको रक्सी र बियर आफूले नभई साथीहरूले ल्याएको उनको दाबी छ ।
भोजको विषयलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको आलोचनाप्रति पुनले व्यङ्ग्यात्मक प्रतिक्रिया दिए । आफूले ठूलो अपराध गरेजसरी विषय उछालिएको भन्दै उनले लेखेका छन्, ‘यही भोज अन्तिम भोज पनि हुने भयो यार । माफ पाऊँ पत्रकार सरकारहरू, ठूलो गल्ती भएछ।’
महावीर पुनको भोज प्रकरणमा अहिले दुईथरी धारणा भएका छन्। एकथरीले मन्त्रीजस्तो सार्वजनिक पदमा बसेको व्यक्तिको व्यवहार र जीवनशैलीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताइरहेका छन् भने अर्काथरीले साथीभाइसँगको निजी जमघटलाई अनावश्यक बखेडा बनाइएको टिप्पणी गरेका छन् ।
