`

भीमफेदी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति र उपचार खर्च दिने प्रक्रिया सुरु

Nepal One HD २८ कार्तिक २०८३ १३:५४
प्रशासन

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार रकम उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ ।

कात्तिक २६ गते भीमफेदी गाउँपालिका-६, चिसापानीगढीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको गाडी दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ का र एक जना चालक कबिलासी नगरपालिकाका बासिन्दा थिए ।

त्यस्तै, सरकारले घाइतेको उपचार खर्च व्यवस्थापनलाई पनि प्राथमिकता दिएको जनाएको छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिसहितका माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरूले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

साथै, सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको र पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *