`

नारायणी किनार किन बन्दैछ दुर्व्यसनीको अखडा?

Nepal One HD २८ कार्तिक २०८३ १४:४३
प्रमुख खबर

काठमाडौं। नारायणी नदीको सुन्दर दृश्य, शान्त वातावरण र प्राकृतिक आकर्षणका कारण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको नारायणी नदीकिनार अहिले लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। 

नदीको दृश्यावलोकन गर्न पुग्ने पर्यटक रमाउने ठाउँमा दुर्व्यसनीको गतिविधि बढेपछि स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु–३ स्थित नारायणी नदीकिनार पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ। तर, यही सुन्दर ठाउँमा लागुऔषध सेवन र मादक पदार्थको प्रयोग बढ्दै जाँदा यसको पर्यटकीय सम्भावनामै असर पर्ने जोखिम देखिएको छ।

स्थानीय भरत श्रेष्ठका अनुसार गाउँबाहिरबाट आउने केही व्यक्तिले नदीकिनारमा सवारीसाधन पार्किङ गरी नजिकैको खरको झाडीमा बसेर गाँजालगायत लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेका छन्। खुला र सुनसान ठाउँ भएकै कारण यस्तो गतिविधि बढेको उनको भनाइ छ।

स्थानीय कविता पौडेललाई त अब बालबालिका लिएर नदीकिनार पुग्नसमेत असहज हुन थालेको छ। परिवारसहित घुम्न जाने ठाउँमा दुर्व्यसनीको गतिविधि देखिन थालेपछि स्थानीयमा असुरक्षाको भावना बढेको उनी बताउँछिन्।

नदीकिनार खुला हुनु, पर्याप्त निगरानी नहुनु र घुम्न आउने व्यक्तिका गतिविधि नियमन गर्ने व्यवस्था नहुनुले यस्तो समस्या बढेको स्थानीयको बुझाइ छ। विशेषगरी सवारीसाधन पार्किङ गरेर झाडीमा जाने र त्यहाँ लागुऔषध सेवन गर्ने प्रवृत्तिले सार्वजनिक स्थलको प्रयोगमै प्रश्न उठाएको छ।

जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोर तथा युवालाई दुर्व्यसनबाट टाढा रहन आग्रह गर्दा पनि अपेक्षित सुनुवाइ नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

समस्या लागुऔषध सेवनमा मात्रै सीमित छैन। नदीकिनार पुग्नेहरूले आफूले प्रयोग गरेका खानेकुराका प्याकेट, प्लास्टिक र अन्य फोहर जथाभावी फाल्दा नदी आसपासको वातावरणसमेत प्रदूषित हुँदै गएको छ।

स्थानीय दीपक विकका अनुसार नारायणी नदीकिनारलाई व्यवस्थित गर्न सके यो आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ। तर, त्यसका लागि स्थानीय सरकारले पूर्वाधार निर्माणसँगै सरसफाइ र सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने आवश्यकता छ।

नदीकिनारमा लागुऔषध तथा मादक पदार्थ सेवन नियन्त्रण गर्न निगरानी बढाउने, जथाभावी फोहर फाल्न रोक लगाउने र फोहर संकलन तथा व्यवस्थापनको व्यवस्था गर्ने स्थानीयको माग छ।

खुला ठाउँमा घुम्न आउने पर्यटकलाई व्यवस्थित पार्किङ, सरसफाइ र सुरक्षित वातावरण उपलब्ध गराउन सके नारायणी नदीकिनारको आकर्षण थप बढ्न सक्छ।

नारायणी नदीको प्राकृतिक सुन्दरता र दृश्यावलोकनको सम्भावना बोकेको यो क्षेत्रलाई व्यवस्थित बनाउन सके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनाउन सकिन्छ। तर, अहिले देखिएका दुर्व्यसन, फोहर र निगरानीको अभावले त्यसको सम्भावनालाई ओझेलमा पारिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *