`

चीनमा पहिलोपटक तौल घटाउने औषधि स्वीकृत

Nepal One HD २८ कार्तिक २०८३ १६:२७
जीवनशैली/स्वास्थ्य

काठमाडौं । चीनले पहिलोपटक मुखबाट सेवन गर्न मिल्ने जीएलपी-१ समूहको तौल घटाउने औषधिलाई बजारमा बिक्रीका लागि स्वीकृति दिएको छ । अमेरिकी औषधि निर्माता कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधिलाई ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो ।

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै कम्तीमा एउटा स्वास्थ्यसम्बन्धी समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि प्रयोग गर्न स्वीकृति दिएको हो । दिनमा एकपटक मुखबाट सेवन गर्नुपर्ने यो औषधि गत अप्रिलमा अमेरिकामा समेत स्वीकृत भएको थियो ।

यो स्वीकृतिसँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी-१ औषधि बजारमा ल्याउने पहिलो कम्पनी बनेको छ । यसअघि एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चीनकै इनोभेन्ट कम्पनीले सुईमार्फत प्रयोग गरिने जीएलपी-१ समूहका औषधि बजारमा उपलब्ध गराउँदै आएका थिए ।

जीएलपी-१ औषधिले शरीरमा प्राकृतिक रूपमा पाइने भोक नियन्त्रण गर्ने र रगतमा चिनीको मात्रा व्यवस्थापन गर्ने हर्मोनको नक्कल गरेर काम गर्छ । यसले भोक कम गर्नुका साथै तौल घटाउन सहयोग पुर्‍याउँछ । सुईमार्फत दिइने औषधिको विकल्पका रूपमा मुखबाट सेवन गर्न मिल्ने औषधि विकास गर्न औषधि उत्पादक कम्पनीबीच पछिल्लो समय प्रतिस्पर्धा बढ्दै गएको छ ।

‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित एक अध्ययनले सन् २०५० सम्ममा चीनमा बढी तौल वा मोटोपनाको समस्या भएका वयस्कको सङ्ख्या ६३ करोड पुग्ने अनुमान गरेको छ । त्यस्तै, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको कुल जनसङ्ख्याको ६५ प्रतिशतमा बढी तौल वा मोटोपनाको समस्या देखिन सक्ने चेतावनी दिएको छ ।

बढ्दो मोटोपनाको समस्यालाई ध्यानमा राख्दै चीनमा तौल व्यवस्थापनसम्बन्धी औषधिको माग र बजार विस्तार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *