`

मिथिलाञ्चलमा सुरु भयो सामाचकेवा पर्व

Nepal One HD २९ कार्तिक २०८३ १२:१५
अध्यात्म

काठमाडाैं । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता तथा आपसी सद्भावको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।

कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म विशेष उल्लासका साथ मनाइन्छ । पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गर्ने परम्परा छ । यस अवधिमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीहरू समूह बनाएर परम्परागत गीत गाउँदै नाचगान गर्छन् र आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दछन् ।

पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार सामाचकेवा पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो बनाई सामा र चकेवालगायत विभिन्न आकृति तयार पार्ने चलन छ ।

तयार पारिएका सामाचकेवाका आकृतिलाई रातो रङको बाँसको डालामा सजाएर दियो बालिन्छ । त्यसपछि रातिको समयमा गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर महिलाहरूले सामूहिक रूपमा नाचगान गर्छन् । यसरी लगातार १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ ।

यस पर्वमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका परम्परागत गीत गाउने गर्छन् ।

पर्वको एघारौँ दिन बिहानै सामाचकेवाका आकृतिलाई पुनः तयार पारेर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाउने, परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवाका आकृति फुटाउने चलन छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विधिपूर्वक विसर्जन गरिन्छ ।

सामाचकेवा पर्वको अर्को विशेषता भनेको विवाहित दिदीबहिनी माइतीघर फर्किनु पनि हो । यही परम्पराका कारण विवाह गरेर टाढा पुगेका छोरीबुहारीसमेत माइतीमा भेला हुने गर्छन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *