यु-१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य
काठमाडौं । भारतमा जारी यु-१९ महिला टी-२० त्रिकोणात्मक शृङ्खलाअन्तर्गत भारतको ‘ए’ टोलीले नेपालसामु २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको बेङ्गलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्सको मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको हो ।
भारतका लागि भाविका अहिरेले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले समान ३५ तथा इरा जाधवले २६ रन बनाइन् ।
नेपालका लागि टीका साहले दुई विकेट लिइन् । रचना चौधरी र आशिका महराले एक-एक विकेट हात पारे ।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल भारतको ‘बी’ टोलीसँग नौ विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपालले प्रस्तुत गरेको ५० रनको लक्ष्य भारतले पाँच ओभरमै एक विकेट गुमाएर पूरा गरेको थियो ।
विश्वकपको तयारीका लागि आयोजित यस त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतका दुई टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ । आगामी वर्ष बंगलादेश र नेपालमा आयोजना हुने आईसीसी यु-१९ महिला टी-२० विश्वकपलाई लक्षित गर्दै यो शृङ्खला सञ्चालन गरिएको हो ।
