अनमोलको करियर कै हिट फिल्म बन्दै बाटुलो जुन, उत्साहित प्रिन्सी
काठमाडौं । प्रेम सधैँ प्राप्तिमा मात्रै पूरा हुँदैन । कहिलेकाहीँ सामाजिक अवस्था, आर्थिक असमानता र समयले दुई मनबीचको सम्बन्धलाई अधुरै छाडिदिन्छ । तर, अधुरो प्रेमका सम्झनाहरू भने वर्षौंसम्म मनमा जीवित रहन्छन् । यस्तै प्रेम, विछोड, त्याग र सामाजिक यथार्थको कथा बोकेको चलचित्र ‘बाटुलो जून’ अहिले नेपाली सिनेमा हलमा तहल्का पिटीरहेको छ।
वि.सं. २०४० को दशकको ग्रामीण नेपाली समाज र परिवेशलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ‘बाटुलो जून’ केवल दुई युवायुवतीको प्रेमकथा मात्र होइन । फरक आर्थिक र सामाजिक हैसियतका कारण प्रेममा आउने अवरोध, समाजका परम्परागत मान्यता, वर्गीय विभेद र परिस्थितिले निम्त्याउने बिछोडलाई चलचित्रले मुख्य विषय बनाएको छ ।
अधुरो प्रेम र वर्षौंपछिसम्म बाँकी रहने सम्झनालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको चलचित्रमा तत्कालीन ग्रामीण समाजको जीवनशैली, सम्बन्ध र सामाजिक संरचनाले पनि स्थान पाएका छन् । प्रेम गर्न चाहने दुई मनका बीचमा समाज कसरी पर्खाल बनेर उभिन्छ भन्ने पक्षलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।
यही भावनात्मक कथावस्तु लिएर दर्शकमाझ आएको चलचित्रले व्यावसायिक रूपमा पनि सुखद् सुरुवात गरेको छ । कात्तिक २६ गते बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो तीन दिनमै करिब ३ करोड ५० लाख रुपैयाँ ग्रस व्यापार गर्ने अनुमान गरिएको छ ।
चलचित्रले पहिलो दिन १ करोड ५३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । निर्माता सरोज न्यौपानेका अनुसार सुरुमा सार्वजनिक भएको बक्सअफिस तथ्याङ्कभन्दा सबै हलको हिसाब जोड्दा पहिलो दिनको व्यापार बढी देखिएको हो ।
दोस्रो दिन शुक्रबार पनि चलचित्रको व्यापार उत्साहजनक रह्यो । उक्त दिन चलचित्रले करिब १ करोड २५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । यससँगै पहिलो दुई दिनको कुल व्यापार पौने ३ करोड रुपैयाँ नाघेको थियो ।
तेस्रो दिन शनिबार बिदाको अवसरमा पनि हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको थियो । बिहान र दिउँसोका अधिकांश शोमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको बताइएको छ । रात्रिकालीन शोको अन्तिम हिसाब सार्वजनिक हुन बाँकी रहेकाले तीन दिनको वास्तविक व्यापार यकिन हुन भने बाँकी छ ।
‘बाटुलो जून’को निर्माण यात्रा पनि कम रोचक छैन । प्रारम्भमा २५ लाख रुपैयाँको सानो बजेटमा चलचित्र निर्माण गर्ने योजना बनाइएको थियो । निर्देशक भुवन केसीले विभिन्न अन्तर्वार्तामा सुरुवाती योजनाबारे चर्चा गरेका छन् । त्यतिबेला उनले र अभिनेता अनमोल केसीले पारिश्रमिक नलिई काम गर्ने बताइएको थियो ।
तर, निर्माण प्रक्रिया अघि बढ्दै जाँदा चलचित्रको दायरा विस्तार भयो । छायांकन, निर्माण र अन्य पक्षमा खर्च बढेपछि यसको कुल लागत सवा चार करोड रुपैयाँ अर्थात् करिब ४ करोड २५ लाख पुगेको निर्माण पक्षले जनाएको छ ।
करिब एक दशकपछि भुवन केसीले यही चलचित्रमार्फत निर्देशनमा पुनरागमन गरेका हुन् । अभिनय र निर्माणमा लामो समय बिताएका भुवनका लागि ‘बाटुलो जून’ निर्देशनमा फर्किने एउटा महत्त्वपूर्ण प्रयाससमेत बनेको छ ।
तीन दिनमै करिब ४ करोड रुपैयाँ ग्रस व्यापार गर्ने अवस्थामा पुगेको चलचित्रले राम्रो व्यावसायिक संकेत दिएको छ । तर, बक्सअफिसमा देखिएको ग्रस कलेक्सन नै निर्माताको आम्दानी भने होइन ।
कुल ग्रस कलेक्सनबाट कर तथा चलचित्र विकास शुल्क कट्टी भएपछि बाँकी रहने नेट रकम हल सञ्चालक र निर्माताबीच बाँडफाँट हुन्छ । प्रदर्शनको पहिलो सातामा नेट कलेक्सनको ५० प्रतिशत हिस्सा निर्माता तथा वितरकले पाउने र बाँकी ५० प्रतिशत हल सञ्चालकले राख्ने व्यवस्था छ ।
त्यसैले सवा चार करोड रुपैयाँ निर्माण लागत रहेको चलचित्रले घरेलु बजारबाटै लगानी सुरक्षित गर्न करिब ९ देखि साढे ९ करोड रुपैयाँसम्म ग्रस व्यापार गर्नुपर्ने अनुमान गरिएको छ । वास्तविक ब्रेक इभेन भने प्रचारप्रसार, वितरण खर्च र अन्य व्यावसायिक सम्झौतामा समेत निर्भर रहनेछ ।
अस्ट्रेलिया, अमेरिका, युरोप तथा मध्यपूर्वका बजारमा हुने प्रदर्शन र डिजिटल अधिकार बिक्रीबाट प्राप्त हुने रकमले पनि निर्मातालाई राहत दिन सक्छ । यसकारण सुरुवाती तीन दिनको व्यापार उत्साहजनक भए पनि चलचित्रको अन्तिम व्यावसायिक सफलता आगामी दिनको व्यापार र अन्य बजारबाट प्राप्त हुने आम्दानीले निर्धारण गर्नेछ ।
चलचित्रमा अनमोल केसीले अभिको भूमिका निर्वाह गरेका छन् । उनको जोडीका रूपमा प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गरेकी छन् ।
सनराइज पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता जिया केसी, भविष्य खड्का र सरोज न्यौपाने हुन् भने विवेक थापा सहनिर्माता रहेका छन् ।
चलचित्रको पटकथा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् । यसमा भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, गरिमा पन्त, रेअर राई, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शारदा गिरी, स्नेहा भट्टराई र अमितेश शाहलगायत कलाकारको अभिनय रहेको छ ।
वियोगान्त प्रेमकथा, पुरानो ग्रामीण परिवेश र सामाजिक यथार्थलाई जोडेर निर्माण गरिएको ‘बाटुलो जून’ले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएको छ ।
