विदेशमा ‘वनभोज’ भन्नेहरूको मोज, ‘कुरीकुरी! लाज पनि लजायो’
काठमाडौं । अरूका विदेश भ्रमणलाई ‘रमाइलो वनभोज’ भन्दै संसद्मा प्रश्न उठाउने रास्वपा अहिले आफैं सत्तामा पुगेपछि विदेश भ्रमणको मोहमा परेको छ ।
हिजो मन्त्रीको टोली कति ठूलो भयो, खर्च कसले बेहोर्दैछ र भ्रमणबाट के उपलब्धि हुन्छ भन्दै हिसाब माग्नेहरू आज आफ्नै मन्त्री र सांसदको विदेश दौडाहामा छन् । पाँच मन्त्री र १६ सांसदको टर्की यात्रा, २० सदस्यीय टोलीको चीन भ्रमण । यही दृश्यले रास्वपाभित्रै असन्तुष्टि बढाएको छ ।
पार्टीका सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणीले यही असन्तुष्टिलाई बाहिर ल्याएको छ । उनले लेखेका छन्, ‘जिम्मेवारी-कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ… अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी ।’
पाण्डेको यो कटाक्ष आफ्नै पार्टीका नेता तथा सांसदको विदेश भ्रमणप्रति लक्षित देखिन्छ । चुनावअघि सुशासन र मितव्ययिताको भाषण गर्नेहरू सत्तामा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिन थालेको उनको टिप्पणीको आशय बुझ्न कठिन छैन ।
रास्वपाका लागि यो विषय नयाँ पनि होइन । कुनै समय तत्कालीन वनमन्त्री ऐनबहादुर शाही ठकुरी पत्नी र निजी सचिवसहित नर्वे भ्रमणमा जाँदा तत्कालीन सांसद असिम साहले संसद्मै त्यसलाई राज्यकोषबाट गरिएको ‘रमाइलो वनभोज’ भनेका थिए । मन्त्रीको भ्रमणमा परिवारका सदस्य र निजी सचिव सहभागी भएको विषयमा उनले खर्च र औचित्यमाथि प्रश्न उठाएका थिए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग जोडिएको भिजिट भिसा दुरुपयोगको आशंकाबारे तत्कालीन सांसद सोविता गौतमले पनि संसद्मा प्रश्न उठाएकी थिइन् । तर पछि उक्त आशंका पुष्टि हुन सकेन । अरूका भ्रमणमा यति धेरै प्रश्न उठाउने रास्वपाले अहिले आफ्नै सरकारका विदेश भ्रमणमा भने उही कडाइ देखाउन सकेको छैन ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारबाट कोप–३१ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, कृषिमन्त्री गीता चौधरी, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहतासहित पाँच मन्त्री टर्की पुगे । सांसदको संख्या पनि १६ छ । एउटै सम्मेलनमा यति ठूलो राजनीतिक टोली किन आवश्यक पर्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
टर्की भ्रमणको खर्च र उपलब्धिबारे स्पष्ट विवरण सार्वजनिक नहुँदै रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा गएको छ । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा नोभेम्बर १५ देखि २६ सम्म हुने भ्रमणमा औद्योगिक पार्क, विश्वविद्यालय, रोबोटिक्स प्रविधि, तीव्र गतिको रेल र व्यापारिक केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले टोलीलाई घुमघाममा मात्रै सीमित नभई व्यापार, प्रविधि, कृषि र आर्थिक सहकार्यका विषयमा अध्ययन गर्न निर्देशन दिएका छन् । तर भ्रमणको उपलब्धि निर्देशनले होइन, फर्किएपछि देखिने परिणामले पुष्टि गर्नुपर्छ ।
यता सांसद आशिका तामाङले पनि सरकारी खर्चमा हुने विदेश भ्रमणको पारदर्शितामाथि प्रश्न उठाएकी छन् । आफ्नै पार्टीका सांसद र संसदीय समितिका सदस्यलाई समेत भ्रमणबारे जानकारी नहुने गरेको उनको गुनासो छ । कसलाई किन छनोट गरिन्छ, राज्यकोषबाट कति खर्च हुन्छ र भ्रमणबाट के उपलब्धि हासिल हुन्छ भन्ने विवरण सार्वजनिक हुनुपर्ने उनको माग छ ।
यसरी राजु पाण्डे र आशिका तामाङका अभिव्यक्तिले रास्वपाभित्रै विदेश भ्रमणको शैलीमाथि प्रश्न उठेको देखिन्छ ।
हिजो अरूका विदेश भ्रमणलाई वनभोज भन्ने असिम साहको पार्टी आज आफ्नै मन्त्री र सांसद विदेश पुग्दा किन मौन छ ? अरूको खर्च र सहभागी संख्या गन्नेहरूले आफ्नै भ्रमणको हिसाब जनतालाई दिनुपर्दैन ?
पुराना दलको विरोध गरेर नयाँ बनेको पार्टीले सत्तामा पुगेपछि पुरानै शैली दोहोर्याउने हो भने नयाँपनको अर्थ के रह्यो ? राजु पाण्डेको ‘कुरीकुरी’ अब पार्टी नेतृत्वका लागि सामान्य व्यंग्य मात्र होइन, आफ्नै राजनीतिक प्रतिबद्धता सम्झाउने प्रश्न बनेको छ ।
