अमेजनका ४० स्याटेलाइट बोकेको अमेरिकी रकेट असफल
काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी युनाइटेड लन्च एलायन्स (यूएलए) को भल्कन सेन्टौर रकेट प्रक्षेपणको करिब १० मिनेटमै असफल हुँदा अमेजनका ४० वटा इन्टरनेट स्याटेलाइट गुमेका छन्।
नोभेम्बर १५ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट उडेको रकेटले स्याटेलाइटलाई निर्धारित कक्षमा पुर्याउन सकेन। अमेजनको लियो इन्टरनेट सञ्जाल विस्तारका लागि पठाइएका ती स्याटेलाइट प्रक्षेपणकै क्रममा नष्ट भएका हुन्।
यूएलएका अनुसार उडानको १० मिनेटपछि रकेटमा असामान्य प्राविधिक अवस्था देखिएको थियो। कम्पनीले घटनाको कारण तत्काल पत्ता लाग्न नसकेको र विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
सन् २०२४ मा पहिलो उडान गरेको भल्कन सेन्टौरको यो पाँचौँ उडान थियो। यसअघि पनि दुईवटा उडानमा रकेटको बुस्टरमा समस्या देखिएको थियो। तर ती घटनामा पेलोड निर्धारित कक्षमा पुर्याउन रकेट सफल भएको थियो।
अमेजनले पृथ्वीको तल्लो कक्षमा ३ हजार २०० भन्दा बढी स्याटेलाइट राखेर विश्वव्यापी इन्टरनेट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसमार्फत इलन मस्कको स्टारलिंकसँग प्रतिस्पर्धा गर्ने कम्पनीको योजना छ।
यसअघि अमेजनका करिब ४०० स्याटेलाइट अन्तरिक्षमा पुर्याइसकिएका थिए। पछिल्लो दुर्घटनाले कम्पनीको स्याटेलाइट सञ्जाल विस्तार योजनामा धक्का पुगेको छ।
यो यूएलएको सन् २००६ मा स्थापना भएयताकै पहिलो पूर्ण प्रक्षेपण असफलता हो। घटनापछि रकेटको उडान पुनः सञ्चालन गर्नुअघि प्राविधिक अनुसन्धान र आवश्यक सुधार गर्नुपर्ने भएको छ।
