`

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

Nepal One HD २ मंसिर २०८३ १८:१४
विश्व

काठमाडाैँ। मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन चर्किएपछि करिब ४० वटा कारखाना बन्द भएका छन्।

प्रदर्शनकारीले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई हटाएको थियो। सावरको हेमायतपुरस्थित पद्मार मोरमा सोमबार दिउँसो भेला भएका कामदार प्रहरीको आग्रहपछि शान्तिपूर्वक तितरबितर भएका थिए।

सावर र आशुलिया औद्योगिक क्षेत्रमा बन्द भएका कारखानामध्ये २७ वटा बङ्गलादेश श्रम ऐनको धारा १३(१) अन्तर्गत बन्द गरिएका थिए भने नौवटा अनिश्चितकालका लागि बन्द गरिएको थियो। अन्य कारखानामा सामान्य बिदा दिइएको थियो।

आशुलिया औद्योगिक प्रहरी–१ का प्रहरी उपरीक्षक मोहम्मद मोमीनुल इस्लाम भुइयाँका अनुसार एउटा कारखानाका कामदार भोजन विश्रामपछि काममा फर्कन अस्वीकार गर्दै परिसरमै बसेपछि व्यवस्थापनले बिदा घोषणा गरेको थियो । अन्य दुई कारखानाका कामदारले पनि काम रोकेर धर्ना दिएका थिए। यद्यपि, अन्य कारखानामा कामकाज शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको उनले बताए।

यसैबिच पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित अशान्ति रोक्न सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरिएको छ। सुरक्षा निगरानीका लागि बख्तरबन्द सवारीसाधन, शरीरमा जडान गरिने क्यामेरा र ड्रोनसमेत प्रयोग गरिएको बिजिबीले जनाएको छ।

हसिना डिसेम्बरमा स्वदेश फर्कने योजनामा रहेको समाचार सार्वजनिक भएपछि अवामी लिगका समर्थकले प्रदर्शन गरेका थिए। त्यसपछि जिल्लामा राजनीतिक गतिविधि बढेकाले सुरक्षा सतर्कता अपनाइएको हो। सन् २०२४ जुलाईको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *