`

जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह, एएमआरविरुद्ध सचेतना अभियान

Nepal One HD ३ मंसिर २०८३ १२:१०
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सामान्य संक्रमणदेखि गम्भीर रोगको उपचारसम्म प्रयोग हुने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले प्रतिजैविक प्रतिरोध (एएमआर) को जोखिम बढ्दै गएको छ । यही जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागले प्रभातफेरी आयोजना गरेका हुन् ।

सिंहदरबारको दक्षिण गेटबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला हुँदै बबरमहलस्थित औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो । कार्यक्रममा सरकारी निकायका कर्मचारी, औषधि व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा गलत प्रयोगले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्ने जोखिम रहेको बताए । उनले प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन जिम्मेवार प्रयोग र प्रभावकारी नियमन आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र समस्या होइन । यो पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएको गम्भीर चुनौती हो । त्यसैले यसको नियन्त्रणका लागि सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक छ ।

यस वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदैछ । सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ ।

औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न, आफूखुसी औषधि सेवन नगर्न र चिकित्सकले तोकेको मात्रा तथा अवधिअनुसार मात्रै औषधि प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

त्यस्तै, औषधि व्यवसायीलाई पनि चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक बिक्री नगर्न तथा सेवाग्राहीलाई औषधिको सही प्रयोगबारे जानकारी दिन आग्रह गरिएको छ ।

एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियालाई औषधिविरुद्ध प्रतिरोधी बनाउँदै लैजान्छ । यस्तो अवस्था बढ्दै गएमा सामान्य संक्रमणको उपचारमा प्रयोग हुँदै आएका औषधिसमेत प्रभावहीन हुन सक्छन् ।

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्नु, संक्रमणबाट बच्नु र औषधिको सही प्रयोग गर्नु नै प्रतिजैविक प्रतिरोधविरुद्धको प्रभावकारी उपाय भएको सरोकारवालाहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *