एमाले राष्ट्रिय भेलाका चुराकुरा
काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ। गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि रक्षात्मक अवस्थामा पुगेको एमालेले विभिन्न सांगठनिक कार्यक्रममार्फत निरुत्साहित कार्यकर्तालाई पुनःजागृत गर्ने प्रयास गर्दै आएको छ। २३ र २४ भदौको जेनजी विद्रोहपछि महाधिवेशन गरेको एमालेले त्यसयता पार्टीको मिसन जागरण अभियान, प्रदेश कमिटी बैठक, केन्द्रीय कमिटी बैठक लगायतका कार्यक्रम पनि गरिसकेको छ।
एकातिर, राजनीतिक वृत्तमा नेपालमा अब कम्युनिष्ट शक्तिहरूको पुनरागमन सम्भव छैन भन्ने विश्लेषण हुने गरेको छ। ‘नेपालका कम्युनिष्टहरू पश्चिम बंगालमा भएजस्तै पतनको बाटोमा गइसके,’ पछिल्लो समय यो भाष्य जबर्जस्त रूपमा स्थापित हुँदै गइरहेको छ।
त्यसमाथि फागुनको प्रतिनिधिसभा निर्वाचनमा मत परिवर्तन गर्दै रास्वपालाई झन्डै दुई तिहाइ जनमत दिएका जनता आफ्नो मनस्थिति परिवर्तन गर्ने पक्षमा देखिँदैनन्। एमालेप्रति जनताको धारणा पनि खासै परिवर्तन भएको देखिएको छैन। यिनै तमाम पक्षलाई लक्षित गर्दै एमालेले राष्ट्रिय भेलाको आयोजना गरेको एमाले नेताहरू बताउँछन्। नेपालवान एचडीसँग कुरा गर्ने अधिकांश एमाले नेताहरूका अनुसार यो राष्ट्रिय भेला एमालेको पुनरुत्थानका लागि कोशेढुंगा बन्नेछ।
‘हाम्रा कार्यकर्ता निरुत्साहित छन्। निरुत्साहित भएका कार्यकर्तामा उत्साह थप्न र वडास्तरसम्म पार्टी एकताको सन्देश प्रवाह गर्न राष्ट्रिय भेलाको आयोजना गरिएको हो,’ एमाले उपमहासचिव योगेश भट्टराईले बताए।
त्यस्तै, पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टीले घोषित नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन राष्ट्रिय भेलाको महत्त्वपूर्ण भूमिका रहनेछ। राष्ट्रिय भेला किन आयोजना गरिएको हो भन्ने प्रश्नमा गुरुङले भने, ‘भर्खर सम्पन्न हाम्रो केन्द्रीय कमिटी बैठकका दुई प्रमुख कार्यभार र १५ कार्यभारलाई जनतासम्म पुर्याउनु राष्ट्रिय भेलाको उद्देश्य हो।’
अर्कोतिर, एमालेले सडक संघर्षको उद्घोष पनि गरिरहेको छ। वर्तमान बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको चर्को आलोचना गर्दै आएको एमालेले सरकारका गतिविधिविरुद्ध आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। तर एमालेकै नेताहरू आन्दोलनको यो भाषालाई फरक ढंगले बुझ्नुपर्ने बताउँछन्।
एमाले केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक ऐन महर स्थानीय तह निर्वाचनको तयारी र पार्टी कार्यकर्ताको जागरण पनि आन्दोलनकै स्वरूप भएको बताउँछन्। ‘हामी अहिले नै तत्काल सडकमा जाने पक्षमा छैनौँ। यो भेला आगामी निर्वाचनको तयारी पनि हो,’ उनले भने, ‘तर वर्तमान सरकारका गतिविधि, काम र निर्णयविरुद्ध संघर्षका कार्यक्रम पनि भेलाले तय गर्नेछ।’
‘स्थानीय निर्वाचनको तयारी त छँदैछ। सँगसँगै वर्तमान सरकारका जनहितविपरीतका निर्णय र राष्ट्रियतामाथिको प्रहारविरुद्ध नेकपा एमाले संघर्ष गर्न तयार छ भन्ने सन्देश पनि यो भेलाले दिनेछ,’ एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले बताए।
यसअघि २१ फागुनको निर्वाचनपछि एमालेमा पार्टी रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस पनि चर्किएको थियो। करिब ६ महिना चलेको पार्टी पुनर्गठनको बहस गत केन्द्रीय कमिटी बैठकसँगै सकियो। अर्कोतिर, उक्त केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्ने महत्त्वपूर्ण निर्णयसमेत गर्यो। यसले एमालेको आन्तरिक शक्ति समीकरण बदलिएको विश्लेषणसमेत भइरहेका छन्।
एमालेको राष्ट्रिय भेलामा आज देखिएको अर्को रोचक पक्ष विजयलाल श्रेष्ठ, माया ज्ञवाली र मोहनचन्द्र अधिकारीको सहभागिता हो। यी तीनै व्यक्ति नेपाली कम्युनिष्ट आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका भाइ हुन् भने ज्ञवाली २०५० जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा ज्यान गुमाएका जीवराज आश्रितकी धर्मपत्नी हुन्। यता अधिकारी २०२८ सालमा भएको झापा आन्दोलनका योजनाकार र नेतृत्वकर्तामध्ये एक हुन्। एउटै मञ्चमा यी व्यक्तित्वहरूको उपस्थितिले एउटा सन्देश दिन खोजेको देखिन्छ—नेकपा एमाले अझै पनि नेपाली राजनीतिको मूलप्रवाहको शक्ति हो।
राष्ट्रिय भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज निकै धम्कीपूर्ण र चेतावनीपूर्ण भाषाको प्रयोग गरे। उनको चेतावनी सरकारप्रति लक्षित रहेको बुझ्न कठिन छैन। सम्बोधनका क्रममा उनले एमाले र यसका कार्यकर्तालाई कमजोर नठान्न तथा नहेप्न सरकारलाई चेतावनी दिएको देखिन्छ। भेलालाई सम्बोधन गरेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पनि एमालेको शक्ति सञ्चय, वर्तमान सरकारको कार्यशैली, पार्टीको आगामी कार्यदिशा र एमाले नेतृत्वको सरकारले हासिल गरेका उपलब्धिबारे व्याख्या गरेका थिए।
करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी एमालेको राष्ट्रिय भेलाले एउटा सन्देश दिएको देखिन्छ—एमाले कमजोर छैन। यसअघिका पार्टीभित्रका गुटबन्दी र शक्तिसंघर्षलाई थाती राखेर कार्यक्रममा सहभागी सबै एमाले नेताहरूको भाषा एउटै देखिन्छ—एमाले निर्वाचन र आन्दोलन दुवैका लागि तयार छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मोहनचन्द्र अधिकारी, विजयलाल श्रेष्ठ, माया ज्ञवाली तथा सार्वजनिक रूपमै आफ्नै नेतृत्वको आलोचना गर्दै आएका नेता तथा कार्यकर्ता एउटै कार्यक्रममा सहभागी हुनुको सन्देश पनि यही हुन सक्छ।
