`

नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

Nepal One HD ७ मंसिर २०८३ १७:५२
प्रमुख खबर

काठमाडौँ । नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं सरोकारवालाले यस विषयमा जोड दिएका हुन् ।

इन्डिया फाउण्डेशनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबिच सांस्कृतिक सम्बन्धको पुन:परिभाषा जरुरी रहेको बताए । उनले नयाँ पुस्तामा देखिएको नयाँ सोच र आकांक्षाले दुवै देशका युवालाई प्रभावित बनाइरहेको सन्दर्भमा नीतिहरुमा पनि आवश्यकता अनुसारको परिवर्तनमा जोड दिएका हुन् ।

नेपालका शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणका क्रममा संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवाहरुलाई स्व संस्कृतिका बारेमा जानकार बनाउनुपर्ने बताए । युवाहरुलाई सृजनशील र दक्ष बनाउन नेपाल तथा भारतले मिलेर कार्य गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्रा श्रीनिवास बरखेडीले नेपाल र भारतबाट सुरु भई अहिले पनि अभ्यास एवं साधनामा रहेको संस्कृतिले समग्र एसियालाई प्रकाशित गरिरहेकाले यसको विशुद्धता कायम राख्नुपर्नेमा जोड दिए ।

भारतकी प्रा माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकुद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा उनले संयुक्त शैक्षिक कार्यक्रमहरु बनाएर जानुपर्ने बताइन् ।

काठमाडौँ विश्वविद्यालयका लागि आइसिसीआर प्रमुखसमेत रहेकी प्रा.सुखिजाले शिक्षा र खेलकुदका क्षेत्रमा भइरहेका सहकार्यहरुले सम्बन्धलाई अझ प्रगाढ बनाएको बताइन् । विश्वमा आएको प्रविधिको तीव्र विकासले नेपाल र भारतबिचको नयाँ पुस्तामा सम्बन्धलाई सुदृढीकरणका लागि नयाँ नीतिहरु आवश्यक देखिएको उनले बताइन् । उनले भनिन्, “परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरु बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।”

भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एशियन स्टडिजका निर्देशक प्रा. सरुपप्रसाद घोषले दुवै देशले युवाहरुमा रोजगारी र दक्षतामा ध्यान दिनुपर्ने बताए । भारतको वर्तमान सरकार दक्षता अभिवृद्धिमा केन्दित भएको तर ब्रेन ड्रेन र बसाईँसराईँको चुनौती बढेको उनले सुनाए । सामाजिक क्षेत्रमा आएका समस्याले युवा पुस्तामा आएका नकारात्मक असर अन्तका लागि नीति बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

भारतको विद्यान गँगा बेसिन फाउण्डेशन अफ रिसर्च एण्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतसँग ४० प्रतिशतभन्दा बढी युवा जनसङ्ख्या रहेकोले त्यसबाट प्रचुर लाभ लिन सक्नुपर्ने बताए । युवाहरुमा आएको ब्रेन ड्रेनको चुनौती दुवै देशको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने उनले भनाइ थियो ।

नेपालमा स्थिर सरकार भएकाले भारतले मिलेर काम गर्ने सहज वातावरण विकास भएको उनले बताए । दुवै देशले मिलेर काम गर्न सकिने र भारत त्यसका लागि तत्पर रहेको उनको भनाइ थियो । नेपालको अर्गानिक उत्पादनले भारतमा बजार पाउनसक्ने र युवालाई त्यस दिशातर्फ लगाउन उनको सुझाव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *