वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरले २७ रणनीतिक कार्यक्रम अघि बढाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने भएको छ ।
धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार तथा प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
राईका अनुसार महानगरले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदासमेत तयार पारेको छ । कार्ययोजनामा सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
“कामपा नसर्ने रोग र चोटपटकबाट नागरिकलाई बचाउन प्रतिबद्ध विश्वका सहरहरूको सञ्जालको सदस्य पनि हो । सोही कारण विश्व स्वास्थ्य सङ्गठन र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तीमध्ये वायु प्रदूषण नियन्त्रण पनि एउटा महत्त्वपूर्ण कार्यक्रम हो”, राईले भनिन् ।
उनका अनुसार भौगोलिक बनावटका कारण काठमाडौँले पनि वायु प्रदूषणको असर भोग्नुपरेको छ । साझा प्रयासबाट प्रदूषण न्यूनीकरण गर्ने महानगरको लक्ष्य रहेको उनले बताइन् ।
कार्ययोजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने उद्देश्य राखेको छ । यसअन्तर्गत महानगरका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरवलोकन गर्ने तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै, विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिलाई प्रोत्साहन गरिनेछ ।
सबै काम एउटै विभागबाट सञ्चालन गर्न नसकिने भएकाले विषयगत प्रकृतिअनुसार महानगरका ३२ वटै वडा कार्यालयलाई समेत जिम्मेवारी तोकिएको राईले जानकारी दिइन् ।
कार्ययोजनाअनुसार यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभाग र वडा कार्यालयहरूलाई जिम्मेवारी दिइएको छ ।
महानगरपालिकाका अनुसार कार्ययोजनामा समेटिएका केही काम तत्काल तथा निरन्तर सञ्चालन गरिनेछ भने केही महिनाभित्र, एक वर्षभित्र र केही दुईदेखि पाँच वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
