`

बालेनले भारत भ्रमणमा सीमा र सन्धिका मुद्दा उठाउन नसकेको शंकर पोखरेलको आरोप

Nepal One HD ८ मंसिर २०८३ ११:४८
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता नपाएको टिप्पणी गरेका छन् ।

भारतसँग हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि सीमा विवाद, सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन र नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयमा ठोस छलफल हुन नसकेको उनको आरोप छ ।

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका प्रधानमन्त्रीबाट भारत भ्रमणका क्रममा सीमा समस्याबारे पहल हुने अपेक्षा गरिएको बताए ।

‘ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका विषयमा छलफल गर्नुहोला भन्ने लागेको थियो । कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो, तर त्यो विषय नै बनेन,’ उनले भने ।

पोखरेलले नेपालले लामो समयदेखि उठाउँदै आएको सन् १९५० को सन्धि पुनरावलोकनको विषयसमेत भ्रमणमा प्राथमिकतामा नपरेको बताए । नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज प्रवेश नपाइरहेको अवस्थामा त्यसको समाधान खोज्न सरकारले चासो नदिएको उनको भनाइ छ ।

‘भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारत पठाउने कुरामा ध्यान गएन,’ पोखरेलले टिप्पणी गरे ।

हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि त्यसको कार्यान्वयन मुख्य चुनौती रहेको उनले बताए । विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएर कार्यान्वयन नभएको स्मरण गर्दै उनले यसपटक पनि सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

विदेशी ऋण लिनु हुँदैन भन्ने धारणा राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्वको सरकारले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उसको पुरानो नीतिमा आएको परिवर्तन भएको पोखरेलको टिप्पणी छ ।

‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई लगाइएको आक्षेप कति मिथ्या रहेछ भन्ने पुष्टि भएको छ । विदेशी ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएको छ,’ उनले भने ।

भारतको एक्जिम बैंकबाट प्राप्त ऋण परिचालनमा देखिएका जटिलता र सडक निर्माणमा भएको ढिलाइले ऋण कार्यान्वयनको व्यावहारिक कठिनाइसमेत देखाएको उनले बताए ।

महासचिव पोखरेलले वर्तमान सरकार सुशासन र विकास दुवै क्षेत्रमा कमजोर देखिएको आरोप लगाए । ‘नो लाइन’ को नारा दिएर सत्तामा आएको सरकारले सरकारी सेवा प्रवाह सुधार्न नसकेको, विदेशिने युवाको संख्या बढेको, सेवाग्राहीले सरकारी कार्यालयमा लामो समय लाइन बस्नुपरेको तथा लगानीको वातावरण बनाउन नसकेको उनको भनाइ छ ।

पुँजीगत खर्च कमजोर हुँदा विकास निर्माणले गति लिन नसकेको र भोटेकोसी बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापनासहित विपद् व्यवस्थापनमा समेत सरकार चुकेको उनले आरोप लगाए । बजारमा बढ्दो मूल्यवृद्धि र अराजकता नियन्त्रण गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

सरकार वास्तविक समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको टिप्पणी गर्दै पोखरेलले भने, ‘सरकार सोसल मिडियामा सफल भए पनि यथार्थमा कमजोर साबित भएको छ । जनताका सरोकार सम्बोधन गर्न सरकार असफल भयो ।’

सरकारप्रति बढ्दो जननिराशाले सामाजिक असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै उनले जनताका समस्या सम्बोधन नभए बंगलादेशको जस्तो अवस्था आउन सक्ने बताए ।

गत निर्वाचनमा जनताले पुराना दललाई दण्डित गरेको स्मरण गर्दै पोखरेलले ती दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने धारणा राखे । संविधान निर्माण र लोकतन्त्र स्थापनामा भूमिका खेलेका दलहरूले जनतासँग टुटेको सम्बन्ध सुधार्न एमालेले राष्ट्रिय भेलामार्फत अभियान थालेको उनले जानकारी दिए ।

संविधानलाई समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि संघीय लोकतन्त्रको आधारभूत संरचना कमजोर हुने गरी संशोधन गर्न नहुनेमा उनले जोड दिए । संसद् र राजनीतिक दललाई बेवास्ता गर्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीको स्वेच्छाचारिता नियन्त्रण गर्न नसके रास्वपा आफैँ संकटमा पर्ने चेतावनी दिए । लोकतन्त्रको रक्षाका लागि एमाले अन्य राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

यसैगरी, महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा एमाले स्पष्ट रहेको बताए । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल वैशाखमा र प्रदेशसभाको कार्यकाल मंसिरमा सकिने भएकाले दुवै निर्वाचन एकैपटक गर्न सम्भव नहुने उनको तर्क छ ।

सरकारले निर्वाचनका विषयमा अन्योल सिर्जना गरेको आरोप लगाउँदै उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा स्वीकार्य नहुने बताए । निर्वाचन समयमा हुन नसके राष्ट्रियसभा गठन, राष्ट्रपति निर्वाचन प्रक्रिया र संघीय लोकतन्त्रको आधारभूत संरचनामै असर पर्न सक्ने उनको भनाइ छ ।

पोखरेलले आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेत पनि गरेका छन् । विगतमा माओवादीले एमाले र कांग्रेससँग गरेको चुनावी तालमेलको अनुभवबाट वामपन्थी दलबीच मत हस्तान्तरण र सहकार्यको आवश्यकता महसुस भएको उनले बताए ।

यद्यपि, यस विषयमा औपचारिक छलफल भने भइनसकेको उनले स्पष्ट पारे । ‘तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेका छन्, त्यति हो,’ पोखरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *