`

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा, प्रदेशको मंसिरमा हुनुपर्छ – ओली

Nepal One HD ५ मंसिर २०८३ १८:०५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहसँग विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसमेत रहेकाले त्यसलाई थप सबल बनाउनुपर्ने बताएका हुन् ।

उनले स्थानीय तह सबल हुँदा देशमा विखण्डन र पृथकतावादी प्रवृत्ति बढ्ने नभई विकास निर्माण र जनसेवाका काम प्रभावकारी हुने बताए । ठूला राष्ट्रिय विकास आयोजना र राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको भए पनि जनताको दैनिक सेवासुविधा र स्थानीय आवश्यकतासँग जोडिएका काम स्थानीय तहमार्फत नै प्रभावकारी हुने उनको भनाइ थियो ।

ओलीले भने, ‘स्थानीय तहलाई स्वायत्त सरकारको रूपमा, स्थानीय तहलाई आफैँले सबै विधायकीय अधिकार, कार्यकारिणी अधिकार र न्यायिक अधिकारसमेत राज्यका तीनटै अङ्गका अधिकार प्रयोग गर्न सक्ने गरी बनाउनुपर्छ। स्थानीय तहसँग जुन अधिकार हुन्छ, त्यो अरूसँग छैन।’

उनले प्रदेशलाई शक्तिशाली बनाउँदा पृथकतावादी र जातिवादी प्रवृत्ति बढ्न सक्ने आशंका व्यक्त गर्दै स्थानीय तहलाई सबल बनाउँदा त्यस्तो खतरा नरहने बताए ।

ओलीले जनप्रतिनिधिहरूलाई जनतासँग शालीन, विनम्र र मित्रतापूर्ण व्यवहार गर्न आग्रह गरे । जनताले दिएको मतकै आधारमा जनप्रतिनिधि जिम्मेवारीमा पुगेको भन्दै उनले पदको घमण्ड नगरी मुस्कानसहित सेवा दिनुपर्ने बताए ।

उनले भने, ‘तपाईंहरूले साँच्चै मुस्कानसहितको सेवा दिनुभयो भने मान्छे खुसी हुन्छ। तपाईंहरूले रूखो बोलिदिनुभयो, पदको धाक जमाइदिनुभयो, नरम व्यवहार र मित्रतापूर्ण व्यवहार गर्नुभएन भने मान्छे रिसाउँछ।’

आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले विगतमा भएका कमजोरी र जनतासँग टुटेको सम्बन्ध सुधार्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । राम्रो काम गरेका जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाउने सम्भावना रहेको भन्दै उनले उम्मेदवार जो भए पनि पार्टीले अघि सारेको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए ।

उनले भने, ‘कहीं कतै विगतमा कमजोरी रहे भने यदि पौने चार वर्ष जति पोखियो भने हतारहतार उठाउनुहोस् साथी हो। पोखिएको हुन सक्छ कतैकतै, त्यो हतारहतार उठाउनुहोस्, हतारहतार मिलाउनुहोस्।’

ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे । जनप्रतिनिधिले संविधानअनुसार पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनले फागुन वा चैतमा नभई वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए ।

उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *