`

ग्लोफ सञ्जीवनी : चार तालको पानी घटाएर बस्ती जोगाउने तयारी

समिन बरुवाल १० मंसिर २०८३ ११:२२
फिचर

काठमाडौं । हिमालमा हिउँ पग्लिँदै छ । हिमनदीको बहाव फेरिँदै छ । हिमतालको आकार बढ्दै जाँदा तिनको किनारमा रहेका प्राकृतिक बाँधमाथि दबाब पनि थपिँदै गएको छ ।

कुनै दिन त्यही बाँध फुट्यो भने पहाडका बस्ती, खेतबारी, सडक, पुल र जलविद्युत् आयोजनासम्म बाढीको चपेटामा पर्न सक्छन् । हिमताल विस्फोटबाट आउने बाढी अहिले नेपालको हिमाली क्षेत्रका लागि बढ्दो प्राकृतिक जोखिम बनेको छ ।

यही जोखिम कम गर्न नेपालले ५० मिलियन अमेरिकी डलर हाराहारीको ‘ग्लोफ सञ्जीवनी’ परियोजना अघि बढाएको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सुरु भएको यो परियोजनाको मुख्य लक्ष्य हिमताल विस्फोट हुनुअघि नै सम्भावित खतरा कम गर्नु र जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउनु हो ।

परियोजनाको सबैभन्दा महत्त्वपूर्ण काम चार जोखिमयुक्त हिमतालको पानीको सतह घटाउनु हो । मनाङको डोना अर्थात् ठूलागी, संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होङ्गु–२ हिमताललाई प्राथमिकतामा राखिएको छ । तीनवटा हिमतालको पानी तीन मिटर र होङ्गु–२ को एक मिटर घटाउने योजना छ । पानीको सतह घटेपछि प्राकृतिक बाँधमाथिको दबाब कम हुने र सम्भावित विस्फोटको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर हिमतालको पानी घटाउनु मात्रै यो परियोजनाको समाधान होइन । हिमाली क्षेत्रमा मौसम र जलप्रवाहको निरन्तर निगरानी गर्ने, बाढी आउनुअघि नै तल्लो तटीय बस्तीमा सूचना पुर्‍याउने र जोखिमयुक्त क्षेत्रमा सुरक्षात्मक पूर्वाधार निर्माण गर्ने योजना पनि छ । मर्स्याङ्दी, अरुण, दूधकोशी र तल्लो बरुण नदी जलाधार क्षेत्रमा पूर्वसूचना प्रणाली विस्तार गरिनेछ ।

यसको प्रत्यक्ष प्रभाव हिमाली क्षेत्रका बासिन्दाको सुरक्षासँग जोडिन्छ । परियोजनाबाट ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अनुमान छ । प्रत्यक्ष लाभान्वितमध्ये ५५ प्रतिशत महिला हुनेछन् । त्यस्तै, जोखिमयुक्त नदी जलाधारका तल्लो क्षेत्रमा बसोबास गर्ने करिब २० लाख मानिसले अप्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।

हिमतालको जोखिम किन बढिरहेको छ भन्ने बुझ्न पछिल्ला दशकको परिवर्तन हेर्न पर्याप्त हुन्छ । सन् १९८७ देखि २०१७ सम्म नेपालका हिमतालको कुल क्षेत्रफल २५ प्रतिशतले बढेको तथ्यांक छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्नु, हिमनदी पग्लिनु र हिमताल फैलिनुले प्राकृतिक बाँध कमजोर बन्ने जोखिम बढाएको छ । बाँधमा क्षति पुगेमा एकैपटक ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न सक्छ । यस्तो बाढीले मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो विनाश निम्त्याउन सक्छ ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाको कुल लागत ४९.९४ मिलियन अमेरिकी डलर छ । हरित जलवायु कोषबाट ३६.१६ मिलियन डलर अनुदान प्राप्त हुनेछ भने नेपाल सरकारले ११.३२ मिलियन, यूएनडीपीले २.१४ मिलियन र निजी क्षेत्रका साझेदारले ०.३२ मिलियन डलर योगदान गर्नेछन् ।

परियोजनामा संघ, प्रदेश र स्थानीय सरकारसँगै विपद् व्यवस्थापन, वन्यजन्तु संरक्षण, पर्यटन तथा ऊर्जा क्षेत्रका निकाय र निजी क्षेत्रको सहभागिता रहनेछ । हिमतालको पानी घटाउने कामदेखि पूर्वसूचना प्रणाली र सुरक्षात्मक संरचना निर्माणसम्मका गतिविधि वातावरणीय तथा सामाजिक सुरक्षाका मापदण्ड पालना गरेर अघि बढाइनेछन् ।

हिमतालको जोखिम हिमाली क्षेत्रमा मात्र सीमित हुँदैन । माथिल्लो क्षेत्रमा फुटेको हिमतालको पानी नदीको बहावसँगै सयौँ किलोमिटर तलसम्म पुग्न सक्छ । त्यसैले हिमतालको निगरानी र जोखिम न्यूनीकरणलाई स्थानीय समस्या मात्र ठानेर पुग्दैन । यो तल्लो तटीय बस्ती, राष्ट्रिय पूर्वाधार र समग्र अर्थतन्त्रको सुरक्षासँग जोडिएको विषय हो ।

अब यो परियोजनाको वास्तविक सफलता कति डलर खर्च भयो भन्नेमा मात्र मापन हुने छैन । चार हिमतालको जोखिम कति घट्यो, पूर्वसूचना प्रणालीले विपद्अघि नै मानिसलाई सचेत गराउन सक्यो कि सकेन र जोखिममा रहेका बस्ती कति सुरक्षित बने भन्नेले यसको उपलब्धि निर्धारण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *